सिरिजङ्घा र कञ्चनजङ्घा सम्बन्धी वृत्तचित्र लोकार्पण हुँदै

नारद गुरागाई 
ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा र कञ्चनजङ्घा सम्बन्धी वृत्तचित्र लोकार्पण हुने भएको छ । सिरिजङ्घा गाँउ कार्यपालिकाको आयोजना र सिरीजंगा सरोकार समाजको सह आयोजनामा यही फागुन ८ गते सोमबार राष्ट्रिय नाचघर जमल काठमाडौँमा संस्कृति, पहिचान, सामाजिक, आर्थिक र पर्यटकीय सम्भावनाहरू समेटिएको  वृत्तचित्र लोकार्पण हुने भएको हो । 

उक्त लोकार्पण कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीद्धारा गरिने सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष डा. चित्र माबोले जानकारी दिए । उनका अनुसार उक्त वृत्तचित्रबाट सिरीजंगा गाउपालिका र कञ्चनजङ्घाको पर्यटन प्रबर्द्धन हुने तथा सिरिजङ्घाको पहिचान विश्वसामु थप उजागर हुने विश्वास लिइएको छ ।

 

३० मिनेट लामो वृत्तचित्र कञ्चनजङ्घाको राष्ट्रिय स्तरबाट प्रचार पुगोस् भन्ने उद्देश्यले काठमाडौँमा लोकार्पण गर्न लागिएको आयोजकले जनाएको छ । कार्यक्रमले  पर्यटन व्यवसायी र सरोकारवालासँग सहज ढंगले छलफल हुने बताइएको छ । कञ्चनजङ्घाको बाटोलाई सहज तरिकाले प्रचार गरी देश तथा विदेशका चिनाउन सकिने साथै आन्तरिक पर्यटकको समेत ध्यान फर्काउन सकिने हेतुले कार्यक्रम काठमाडौँमा राखिएको पालिका उपाध्यक्ष मावोको भनाइ रहेको छ । 

उता आयोजकले देश तथा विदेशमा रहेका सम्पूर्ण सरोकारवाला महानुभावहरूलाई कार्यक्रममा सहभागिता र यसको प्रचारका लागी अनुरोध समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्