मतदाता नामावली अद्यावधिक गराउन जिल्ला निर्वाचन कार्यालयको आग्रह

ताप्लेजुङ । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले मतदाता नामावली अद्यावधिक गराउने कार्यमा सहभागी हुन आग्रह गरेको छ ।

बिहिबार सदरमुकाम फुङलिङमा जिल्लाका क्रियाशिल राजनीतिक दल तथा सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम गर्दै मतदाता नामावली अद्यावधिक गराउने कार्यमा सहभागी हुन र सहयोग एवं समन्वय गर्न आग्रह गरेको हो ।

निमित्त जिल्ला निर्वाचन अधिकारी बान्दवराज दुलालले माघ मसान्त सम्म संकलन भएका मतदाता नामावली अद्यावधिक तथा दावी बिरोध प्रकृया पूरा गरी त्रुटी रहित अन्तिम नामावली प्रकाशन गर्ने उद्देश्य रहेकोले अद्यावधिक गर्नुपर्ने बताए ।

साथै उनले त्रुटी साथै दाहोरो मतादाता नामावली भए सच्याउन,मृत्यु भएका व्यक्तिको प्रमाणका आधारमा नामावली हटाउन,नामावली उपर दावी बिरोध गर्न र एक वडा भित्र एक भन्दा बढी मतदानस्थल भए आफ्नो नामावली मतदातालाई पायक पर्ने स्थानमा सार्ने लगायतका अद्यावधिक कार्यमा सहभागीमा हुन आग्रह गरे ।

निमित्त जिल्ला निर्वाचन अधिकारी दुलालले मतदाता नामावली संकलन सहितका कार्य भइरहने तर गत माघ २९ गते सम्म संकलन भएको मतदाता नामावलीलाई अन्तिम रुप दिई आउँदोे बैशाख ९ गते सम्म १८ बर्ष उमेर पूरा भएका मतदाताको अन्तिम नामावली तयार पार्न अद्यावधिक कार्य सुरु हुने जानकारी दिए ।

जस अन्तरगत आउँदो फागुन २२ गते मतदाता नामावली प्रकाशन गर्ने,२३ गते कसैले झुठो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको बिरोधमा उजुरी दिने,मतदाता नामावलीमा मृत्यु भएका व्यक्तिको समेत नाम कायम भएर आएको भए नाम हटाउन निबेदन दिने सहितका कार्य हुने भएका छन् ।

फागुन २८ गते सम्ममा नाम दर्ता अधिकारीले त्रुटी सच्याउने सहितका कार्य गरी २९ गते भित्र नाम हटाईएको सूचना जिल्ला निर्वाचन कार्यालयमा प्रकाशन गरिने भएको छ ।

उनका अनुसार ताप्लेजुङमा गत माघ मसान्त सम्ममा ८८ हजार ७ सय २६ जनाको नाम मतदाता नामावलीमा दर्ता भएको छ ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनको क्रममा ताप्लेजुङमा ८८ हजार २ सय ८५ मतदाता थिए ।

अद्यावधिक हुनु भन्दा अघिको अवस्थामा आउँदो बैशाख ९ गते सम्ममा १८ बर्ष पूरा भएका मतदाताको संख्या ८८ हजार ५ सय २१ द्येखिन आउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

अद्यावधिकका क्रममा यो संख्यामा घटबढ हुन सक्ने जिल्ला निर्वाचन कार्यालयले अनुमान गरेको छ ।

चितवन निर्वाचन क्षेत्र नं. २ मा हुने उप–निर्वाचनको क्रममा अन्य स्थानमा पनि चालु आर्थिक वर्ष २०७९÷८० को असार मसान्त सम्म उप–निर्वाचन हुने स्थिति भए निर्वाचन गराउने तयारी स्वरुप निर्वाचन आयोगले मतादाता नामावली अद्यावधिक अभियान सञ्चालन गर्न लागेको निमित्त जिल्ला निर्वाचन अधिकारी दुलालले बताए ।


प्रतिक्रिया दिनुहोस्