फत्ताङलुङमा जारी निशुल्क आँखा शिविरमा डा.सन्दुक रुईतको टोलीद्धारा शल्यक्रिया सुरु

लोकेन्द्र लिम्बू “लोकेश”
ताप्लेजुङ । ताप्लेजुङको फत्ताङलुङ गाउँपालिकामा फागुन ८ गतेबाट सुरु भएको निशुल्क आँखा शिविरमा शनिबार (आज) बाट शल्यक्रिया सुरु भएको छ । पालिकाको केन्द्र तापेथोकमा तिलगंगा आँखा अस्पताल काठमाडौंको वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.सन्दुक रुईतको टोलीले शल्यक्रिया गरि रहेको हो ।

फागुण ८ गतेबाट पालिकाको विभिन्न स्थानमा गरिएको शिविरबाट छनोट भएका शल्यक्रिया गर्नुपर्ने आँखाका बिरामीहरुको शल्यक्रिया गर्न सुरु गरिएको पालिकाले जनाएको छ ।

शल्यक्रिया कार्य आईतबार (भोली)सम्म जारी रहनेछ भने अस्ति छनोट शिविरमा आउन छुटेकाहरुको पनि आँखा परिक्षण गरेर उपचार गर्ने क्रम पनि जारी रहेको छ ।

फत्ताङलुङ गाउँपालिका,ताप्लेजुङ र तिलगंगा आँखा अस्पताल,काठमाडौंको संयुक्त आयोजनामा भई रहेको शिविरमा हालसम्म गाउँस्तरमा सञ्चालन गरिएको छनोट शिविरमामा एक हजार नौ सय एक जनाको आँखा परिक्षण गरिएको छ भने जस मध्ये ८३ जनाको आँखामा मोतिया विन्दु भएको र उनिहरुलाई शनिबार र आईतबार डा.रुईतको टोलीले शल्यक्रिया सहित आवश्यक उपचार गर्ने बताईएको छ ।

गाउँपालिका अध्यक्ष राजन लिम्बु (मुक्ति)का अनुसार गाउँस्तरमा गरिएको शिविरमा ग्याब्लामा २७ जनाको परिक्षण गर्दा १ जनामा मोतियाविन्दु,फलेमा १० जनाको परिक्षण गर्दा कसैको पनि मोतियाविन्दु नभएको, घुन्सामा ३४ जनाको परिक्षण गर्दा १ जनामा मोतियाविन्दु,ओलाङचुङगोलामा ७२ जनाको परिक्षण गरिएकोमा ४ जनाको आँखामा मोतियाविन्दु भएको छ ।

त्यस्तै ईलाडाँडा १६ जनाको परिक्षण गर्दा २ जनामा मोतियाविन्दु,हान्द्रुङमा १९४ जनामा गरिएको परिक्षणमा ८ जनामा मोतियाविन्दु,छिरुवामा ४८८ जनाको परिक्षण भएकोमा १५ जनामा मोतियाविन्दु, सिँवामा ८०२ मा परिक्षण गरिएकोमा ३६ जनामा मोतियाविन्दु, हेल्लोकमा १०४ जनाको परिक्षण गरिएकोमा ११ जनामा मोतियाविन्दु र तापेथोकमा १५४ जनाको परिक्षण गर्दा ५ जनामा मोतियाविन्दुको समस्या भएको छ ।

मोतियाविन्दु भएका आँखाका बिरामीहरुको शनिबार र आईतबार डा.रुईतको टोलीले शल्यक्रिया सहित आवश्यक उपचार गर्नेछ ।

तस्विरहरु: मिङमा डण्डु शेर्पा


प्रतिक्रिया दिनुहोस्