प्रथम महिला उपमेयर कप सुरु, आयोजकसँग पाथिभरा याङवरक पराजित

देबेन्द्र बानियाँ

ताप्लेजुङ । आजबाट प्रथम महिला उपमेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । फुङ्लिङ नगरपालिकाको आयोजनामा नारी दिवसको अवसर पारेर अन्तरपालिका स्तरीय महिला फुटबल प्रतियोगिता उद्घाटन आज भएको हो ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा कोशी प्रदेशका स्वास्थ्य मन्त्री निर्मला तावाको उपस्थित रहेको थियो । यस्तै विशिष्ट अतिथिहरूमा संविधान सभा सदस्यहरू भुपेन्द्र थेबे र सञ्जपाल मादेन, कोशी प्रदेशका प्रदेश सभा सदस्य खगेनसिं हाङगाम, कोशी प्रदेशका पूर्व मन्त्रीहरू बलबहादुर साम्सोहाङ र प्रतापप्रकाश हाङ्गाम साथै जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाको उपस्थित रहेको थियो ।

अतिथिहरूमा पालिकाहरूको अध्यक्ष सहित विभिन्न राजनीतिक दलहरूका प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थित रहेको थियो । उद्घाटन कार्यक्रममा बोल्दै कोशी प्रदेशका स्वस्थ मन्त्री निर्मला तावाले महिलाहरूको नेतृत्वले मात्र विकास सम्भव हुने बताइन् । उनले भनिन् “समाज, टोल, जिल्ला, क्षेत्र, प्रदेश, संघ साथै विभिन्न सङ्घसंस्थाहरूमा महिलाको सम्मान हुदैन तब सम्म विकासले गति लिन सक्दैन ।” मातृ सत्ताको पर्खाइमा रहेर मात्र महिलाहरूको अधिकार पुरा नहुने चेतनाको आवश्यक पर्ने उनले बताइन् ।

फुङ्लिङ नगरपालिकास्थित भानु जन माध्यमिक विद्यालयको खेल मैदानमा आजदेखि सुरु भएको प्रतियोगिता २४ गते अन्तराष्ट्रिय नारी दिवसको दिन समापन हुने छ । यस अघि मेयर कम हुँदै आएको र महिला खेलाडीको उत्पादन सँगै महिलाहरूलाई पनि खेल क्षेत्रमा अब्बल बनाउने उद्देश्यका साथ यो प्रतियोगिता सुरु गरिएको फुङलिङ नगरपालिकाका उपमेर भिमादेवी ओझाले बताइन् ।

आयोजकबाहेक सिदिङ्वा गाउँपालिका, सिरिजङ्घा, आठराई त्रिबेणी, मेरिङ्देन, मिक्वाखोला, पाथीभरा याङ्वरक र फक्ताङ्लुङ गाउँपालिकाले प्रतियोगितामा सहभागिता जनाएका छन् । खेलको प्राविधिक तथा सञ्चालनको समायोजन भने जिल्ला फुटबल संघले गरेको छ ।

आज भएको उद्घाटन खेलमा फुङलिङ नगरपालिकाले पाथिभरा याङवरक गाउँपालिकालाई ३-० को अन्तरले पराजित गरेको छ । पहिलो खेलबाट नै आयोजक फुङ्लिङ नगरपालिकाले विजय सुरुवात गरेको हो । पराजित पाथीभरा याङ्वाराक भने पहिलो खेलबाटै घर फर्केको छ ।

फुङ्लिङको जितमा खेलको ११औं मिनेटमा सुचितत्रा लिम्बूले गोल गर्दै पाहुना टिमलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । तस्तै खेलको १५औं मिनेटमा सोनी लिम्बूले गोल गर्दै अग्रता दोब्बर पर्दा ४१औं मिनेटमा सुजाता पालुङ्वाले गोल गर्दै फुङ्लिङले विजयको सुरुवात गरेको हो ।

प्रतियोगिताको विजेताले एक लाख ११ हजार रुपियाँ राशीको नगद पुरस्कार र ट्रफी पाउने छ । उपविजेताका लागि भने ५५ हजार ५०० रुपियाँ नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

त्यस्तै प्रतियोगितामा सहभागी खेलाडीलाई उत्कृष्टताका आधारमा विधागत पुरस्कार प्रदान गरिने पनि खेल संयोजक सुनुवारले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्