फत्ताङलुङको निशुल्क आँखा शिविरमा २५सयको आँखा परिक्षण,७०को डा.रुईतको टोलीद्धारा शल्यक्रिया


ताप्लेजुङ । ताप्लेजुङको फत्ताङलुङ गाउँपालिकामा फागुन ८ गतेबाट सुरु भएको निशुल्क आँखा शिविरमा २५ सय जनाको आँखा परिक्षण गरिएको छ ।
परिक्षण गरिएका मध्ये ७० जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ भने जटिल समस्या भएका ४ जनालाई तिलगंगा आँखा अस्पताल काठमाडौं रेफर गरिएको छ ।


पालिकाको केन्द्र तापेथोकमा तिलगंगा आँखा अस्पताल काठमाडौंका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.सन्दुक रुईतको टोलीले बिरामीहरुको शल्यक्रिया गरेको हो ।


फागुण ८ गतेबाट पालिकाको विभिन्न स्थानमा गरिएको शिविरबाट छनोट भएका शल्यक्रिया गर्नुपर्ने आँखाका बिरामीहरुको शल्यक्रिया गरिएको पालिकाले जनाएको छ ।


गाउँस्तरमा छनोट शिविरमा छनोट भएका शल्यक्रिया गर्नुपर्ने बिरामीको शल्यक्रिया गरिएको हो भने छनोट शिविरमा आउन छुटेकाहरुको पनि शनिबार र आईतबार आँखा परिक्षण गरि शल्यक्रिया गर्नुपर्ने बिरामीहरुको डा.रुईतको टोलीले शल्यक्रिया सहित आवश्यक उपचार गरेको हो ।


गाउँस्तरमा सञ्चालन गरिएको छनोट शिविरमा एक हजार नौ सय एक जनाको आँखा परिक्षण गरिएको थियो भने जस मध्ये ८३ जनाको आँखामा मोतिया विन्दु भएको थियो तर गाउँमा अनेक हल्ला फैलाईएकाले छनोट भएका सबै बिरामी शल्यक्रियामा नआएको गाउँपालिका अध्यक्ष राजन लिम्बु (मुक्ति) ले बताए ।


शिविरमा बिरामीको शल्यक्रिया पछि पत्रकारहरुसँग कुरागर्दै डा.रुईतले फत्ताङलुङ गाउँपालिका सहित सम्रग ताप्लेजुङमा सरकारको आँखा नपरेको बताउँदै ताप्लेजुङको पर्यटकीय क्षेत्रलाई विश्वसामु चिनाउने आफ्नो ईच्छा रहेको बताए ।


डा.रुईतले भने,“ताप्लेजुङमा ओलाङचुङगोला,घुन्सा,तिनजुरे,मिल्के,सिङजेमा ताल,कञ्चङजङघा हिमाल,पाथिभरा मन्दिर लगायत धेरै पर्यटकीय क्षेत्रहरु छन् । जस्को प्रचार प्रसार हुन सकेको छैन । ताप्लेजुङ मेरो जन्म स्थल भएकाले पनि मेरो दायित्व महसुस गरेको छु । यी क्षेत्रहरुलाई विश्व सामु चिनाउन काम गर्ने छु ।”


गाउँपालिका अध्यक्ष लिम्बुका अनुसार गाउँस्तरमा गरिएको शिविरमा ग्याब्लामा २७ जनाको परिक्षण गर्दा १ जनामा मोतियाविन्दु,फलेमा १० जनाको परिक्षण गर्दा कसैको पनि मोतियाविन्दु नभएको, घुन्सामा ३४ जनाको परिक्षण गर्दा १ जनामा मोतियाविन्दु,ओलाङचुङगोलामा ७२ जनाको परिक्षण गरिएकोमा ४ जनाको आँखामा मोतियाविन्दु भएको पाईएको थियो ।


त्यस्तै ईलाडाँडा १६ जनाको परिक्षण गर्दा २ जनामा मोतियाविन्दु,हान्द्रुङमा १९४ जनामा गरिएको परिक्षणमा ८ जनामा मोतियाविन्दु,छिरुवामा ४८८ जनाको परिक्षण भएकोमा १५ जनामा मोतियाविन्दु, सिँवामा ८०२ मा परिक्षण गरिएकोमा ३६ जनामा मोतियाविन्दु, हेल्लोकमा १०४ जनाको परिक्षण गरिएकोमा ११ जनामा मोतियाविन्दु र तापेथोकमा १५४ जनाको परिक्षण गर्दा ५ जनामा मोतियाविन्दुको समस्या रहेको बताईएको छ ।


मोतियाविन्दुको समस्या भएका बिरामीको शल्यक्रिया गरिएको छ भने अन्य सामान्य आँखाका बिरामीहरुको परिक्षण गरेर औषधी दिईएको पालिकाले जनाएको छ । गाउँस्तरमा छनोट गरिएका बिरामीलाई पालिकासम्म ल्याउन गाडीको पालिकाले नै व्यवस्था गरेको थियो भने बिरामी साथै बिरामी कुरुवालाई खान बस्न समेत पालिकाले व्यवस्था गरेको थियो ।


विश्व विख्यात ईशा अर्वाड समेत प्राप्त गरिसकेका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.रुईतको टोलीले शल्यक्रिया सहित उपचार गरे सँगै फागुन ८ गतेबाट सुरु भएको आँखा शिविर आईतबार सकिएको छ ।


प्रतिक्रिया दिनुहोस्