कोशी प्रदेशको नाम खारेज गर्न याक्थुङ युवा मञ्चको माग 

नारद गुरागाँइ

ताप्लेजुङ । ताप्लेजुङको १ जातीय सङ्गठनले कोशी प्रदेशको नाम खारेज गर्न माग गरेको छ । लिम्बू समुदायका युवा हरूको छाता संगठन याक्थुङ युवा मञ्चले आज एक विज्ञप्ति जारी गर्दै प्रदेश नम्बर १ को नाम शासक जातीय आधारमा नराखिएकाले उक्त नाम खारेज गरि लिम्बूवान किरात नाम घोषणा गर्न माग गरेको हो । 

याक्थुङ युवा मञ्चका अध्यक्ष विरेन तवेवुङ द्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रदेशको नामाकरण गर्दा ऐतिहासिक किरात  लिम्बूवान आन्दोलन, मधेश आन्दोलन आदिवासी जनजाति आन्दोलन, २००७ सालको क्रान्ति, निरङ्कुश पञ्चायत विरूद्धको आन्दोलन, १० वर्षे जनयुद्भ, ६२/६३ को जनआन्दोलनको जनादेश विपरित साशक जातीय आधारमा राखिएकोमा आफ्नो संगठनको गम्भिर ध्यानाकर्षण भएको र यदि आफ्नो माग सम्बोधन नगरिए दीर्घकालिक रूपमा आन्दोलनमा होमिन वाध्य हुने चेतावनी समेत दिइएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘प्रदेशको नामाकरण गर्दा उत्पीडनकारी उपनिवेशिक एवम् सामन्ती केन्द्रित एकात्मकवादी चिन्तनको धङधङी झल्कने गरी पञ्चायती शैलिमा जबरजस्ती ढङ्गले शाशक जातीय पहिचानमा आधारित कैशिकी रिषिको नामबाट बनेको कोशी प्रदेश नामलाई नेपाली जनताको साझा नामको हवाला दिइएको भन्दै उक्त नाम खारेज गरी संयुक्त साझा पहिचानमा आधारित नाम किरात लिम्बूवान नाम घोषणा गरियोस भनी यसै विज्ञप्ति मार्फत  जोडदार माग गदर्छौ ।’


प्रतिक्रिया दिनुहोस्