द्वन्द्वकालका सम्पूर्ण मुद्दा सत्य निरूपण तथा मेलमिलाप आयोगबाट टुङ्ग्याउन अखिल नेपाल किसान महासङ्घको  माग

ताप्लेजुङ । द्वन्द्वकालका सम्पूर्ण मुद्दा सत्य निरूपण तथा मेलमिलाप आयोगबाट टुङ्ग्याउन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ताप्लेजुङले माग गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरू सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत निष्कर्षमा पु¥याइ द्वन्द्वकालका मुद्दाहरू टुङ्गाउनु पर्ने माग गरेको हो । 

हाल न्यायका सम्बन्धमा भइरहेको चर्चा बारे अखिल नेपाल किसान महासङ्घको गम्भिर ध्यानाकर्षण भएको इन्चार्ज बुद्ध बहादुर लिम्बूले बताए । सङ्क्रमणकालीन न्यायको विपरीतका कामकारबाहीहरुले शान्ति सम्झौताको कार्यान्वयनमा सहयोग नपुग्ने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘जनयुद्ध लगायत लामो समयको द्धन्द्धकाल पश्चात राज्यसँग भएको विभिन्न सहमति र सम्झौताहरूको कार्यान्वयन हुनु पर्दछ साथै परिवर्तनका नायक माओवादी केन्द्रका अध्यक्ष, किसान सङ्गठनका पूर्व अध्यक्ष साथै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) समेतका विरुद्धमा चलाउन लागिएको अभियोग विस्तृत शान्ति सम्झौता अनुरूप नरहेको भन्ने हाम्रो संगठनको धारणा रहेको हुँदा द्वन्द्वकालका सम्पूर्ण मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगबाट टुङ्ग्याउन सम्बन्धित पक्ष समक्ष अपिल गर्दर्छौ ।’ 

शान्ति सम्झौता र परिवर्तनका विरुद्धमा हुने कुनै पनि हर्कतको प्रतिवाद गर्न संगठन प्रतिवद्ध रहेको पनि जनाएको छ ।माओवादी युद्धकालमा मारिएका भनिएका १७ हजार व्यक्तिमध्ये आफूले पाँच हजारको जिम्मा लिने १ माघ २०७६ मा दिएको प्रचण्डको सार्वजनिक अभिव्यक्तिलाई साबिती बयानको रुपमा लिँदै गत मंगलबार सर्वोच्च अदालतमा दुईवटा छुट्टाछुट्टै रिट दर्ता भएको थियो ।
 


प्रतिक्रिया दिनुहोस्