स्ववियु निर्वाचन : पाथीभरा बहुमुखी क्याम्पसमा दूई प्यानल बनाएर उम्मेद्वारी दर्ता 

काठमाडौं । स्ववियु निर्वाचनको लागि ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसमा दुईओटा प्यानल बनाएर उम्मेद्वारी दर्ता गरिएको छ । सूचिकृत भएका ६ ओटा विद्यार्थी संगठनमध्ये नेकपा एमाले निकट अनेरास्ववियु र जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियनको एउटा प्यानल र बाँकी ४ ओटा विद्यार्थी सङ्गठनले अर्को प्यानल बनाएर उम्मेद्वारी दर्ता गरिएको  हो । 

२ ओटा विद्यार्थी संगठन आबद्ध भएको प्यानलमा सभापतिको लागि अनेरास्ववियुबाट मिलन प्रधान, सचिवमा समाजवादी विद्यार्थी युनियनबाट सरगम शेर्पा र कोषाध्यक्षमा अनेरास्ववियुबाट अनिता हेल्लोक लिम्बूले उम्मेद्वारी दर्ता गरिएको निर्वाचन संयोजक उमेश अधिकारीले जानकारी दिएका छन् । 

उनका अनुसार प्रत्यक्ष निर्वाचित सदस्यतर्फ दुवै सङ्गठनका ३–३ जनाले दर्ता गराएका छन् । अनेरास्ववियुबाट सनुजा गौतम, शुसिला गुरुङ र सुर्य शेर्पा रहेका छन् । त्यस्तै समाजवादी विद्यार्थी युनियनबाट लाजरस लिम्बू, सुनिल लिम्बू र शोभा लिम्बुले उम्मेद्वारी दर्ता गराएका छन् । 

यस्तै चार ओटा विद्यार्थी संगठन सम्मिलित प्यानलमा सभापतिका लागि नेविसङ्घबाट अर्जुन खिम्दिङ, सचिवका लागि अखिल क्रान्तिकारीबाट मोहन राई र संघीय विद्यार्थी युनियनबाट कोषाध्यक्षमा शुशिला शेर्पाले उम्मेद्वारी दर्ता गराएको संयोजक अधिकारीले बताए । 

भागबन्डा अनुसार सदस्यतर्फ नेविसंघ र अखिल क्रान्तिकारीले २–२, एकीकृत समाजवादी निकट अनेरास्ववियु र संघीय विद्यार्थी युनियनले १–१ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । नेविसङ्घबाट डोल्मा शेर्पा, विद्या देवान, अखिल क्रान्तिकारीबाट विजयदिप राई, राज गुरुङ, अनेरास्ववियुबाट खगेन्द्र दर्जी र संघीय विद्यार्थी युनियनबाट विसम लिङदेको उम्मेद्वारी परेको छ । 

आगामी चैत्र ५ गते हुने स्ववियुको लागि पाथीभरा बहुमुखी क्याम्पसमा ९ सय ८४ जना मतदाता रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्