रिड नेपालद्वारा विद्यालय, शिक्षक र विद्यार्थी सम्मानित

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपाल) को आयोजनामा शिक्षकको पेशागत विकास तालिम र सिकाइ उपलब्धि प्रवर्द्धन अन्तरगत अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । गत चैत्र २३ गतेबाट सुरु भएको शिक्षकको पेशागत विकास तालिमको समापन सँगै उत्कृष्ट विद्यार्थी, विद्यालय, शिक्षक र विद्यालय व्यवस्थापन समितिका सदस्यलाई सम्मानका साथ उक्त कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा रिड नेपालको क्षेत्राधिकार भित्र पर्ने ३५ वटा विद्यालय मध्ये उत्कृष्ट हुन सफल एक विद्यालयलाई सम्मान गरिएको छ । फक्ताङलुङ गाउँपालिकाको रानी आधारभुत विद्यालय ‘बेष्ट प्रफमिङ अवार्ड’ बाट नगद रु. ५०,००० हजार सहित सम्मानित भएको छ । 

यस्तै ‘बेष्ट प्रफमिङ सेकेन्डरी स्कुल अवार्ड’ बाट सिरिजङ्गाको श्री लक्ष्मी मा.वि. सम्मानित भएको छ । उसले नगद रु. २५ हजार रुपैयाँ प्राप्त गरेको छ । ‘स्टार स्कुल अवार्ड’ बाट नगद रु. २० हजार सहित तापेथोकको श्री स्वारस्वारती मा.वि. सम्मानित भएको छ । 

‘स्टार टिचर आवार्ड’ बाट तीन जना उत्कृष्ट शिक्षक सम्मानित भएका छन् । जसमा श्री पिपुधाप आधारभूत विद्यालयका शिक्षक रामकुमार लिम्बू, श्री कञ्चनजङघा मा.वि. का लक्ष्मी प्रसाद लिम्बू र श्री पाथिभरा महादेव आधारभूत विद्यालयका राम कुमारी माबो सम्मानित भएका छन् । उनीहरूलाई नगद रु ५ हजारबाट सम्मान गरिएको हो । 

राम्रो काम गरेको आधारमा एक जना विद्यालय व्यवस्थापन समितिका सदस्यलाई सम्मान गरिएको छ । श्री स्वरस्वती च्यारीबुङ विद्यालयका विद्यालय व्यवस्थापन समितिका सदस्य फूपु डोमा शेर्पालाई नगद रु. ५००० सहित सम्मान गरिएको हो । 

यो सँगै उत्कृष्ट १० जना विद्यार्थीहरूलाई सम्मान गरिएको छ । उनीहरूलाई वार्षिक उपस्थित सँगै अन्य मूल्याङ्कनको आधारमा सम्मान गरिएको हो । जसमा श्री कञ्चनजङघा मा.वि. की डोल्मा भोटे, श्री सुनदेवी मा.वि. की पोमु शेर्पा, श्री नागथान आधारभूत विद्यालयकी अन्जु श्रेष्ठ, पाथिभरा  आधारभूत विद्यालयकी अभयना लिम्बू, श्री लक्ष्मी मा.वि की तानछोमा लिम्बू, श्री रानि खाधारभूत विद्यालयकी निसा तामाङ, श्री गुन्सा आधारभूत विद्यालयका सन्देश लिम्बू, श्री महेन्द्र आधारभूत विद्यालयका सन्तबिर लिम्बू, श्री गणेश मा.वि.का रिबिस केसी र फक्ताङलुङ आधारभूत विद्यालयकी दिया लिम्बूलाई सम्मान गरिएको छ । उनीहरूले नगद रु. एक हजारका साथ सम्मान गरिएको हो । 

विगत केही वर्षयता प्रत्येक वर्ष उत्कृष्ट विद्यालय, शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई छनोट गरी सम्मान गर्दै आएको रिड नेपालका जिल्ला कार्यक्रम संयोजक राजेन्द्र पन्तले जानकारी दिएका छन् । शैक्षिक प्रवर्द्धन तथा विकास साथै स्थानीय स्तरमै प्राविधिक जनशक्ति उत्पादन गर्ने मुख्य उद्देश्यसहित रिड नेपालले नेपाल सरकारको मातहतमा रहेर विगत १५ वर्ष देखि कार्यक्रम संचालन गर्दै आएको उनले बताए । 

रिड नेपालले शिक्षकको पेशागत विकासका लागि गत फागुन २३ गतेदेखि आज चैत्र २ गतेसम्म १० दिने तालिम प्रदान गरेको छ । आयोजक रिड नेपालले आफ्नो कार्यक्षेत्र भित्रका विभिन्न विद्यालयका २० जना शिक्षकलाई तालिम प्रदान गरेको हो । शिक्षक तालिम केन्द्र इनरुवा सुनसरीसमेतको सहकार्यमा तालिम सञ्चालन गरिएको रिड नेपालकी शिक्षा विकास अधिकृत रोमा माबो लिम्बूले जानकारी दिएकी छिन् । 

उक्त तालिममा सहभागि भएका गणेश मा. वि. का शिक्षक राम कुमार लिम्बूले यस १० दिने तालिबाट पाठ्यक्रमको दुविधामा प्रष्ट हुनुका साथै शिक्षण क्षेत्रमा उर्जा मिलेको बताएका छन् । यो सँगै अब शिक्षण सिकाइ क्रियाकलापमा आधुनिक तरिकाले गर्न सकिने उनले बताए । 

यस्तै पाथिभरा आधारभूत विद्यालय फक्ताङलुङकी सिर्जना लिम्बूले तालिमबाट शिक्षण सिकाईमा ठूलो उपलब्धि हासिल गरिएको बताइन् ।  जिल्लाका दुई गाउँपालिका फक्ताङलुङ र सिरिजङघा गाउँपालिकाका यी क्षेत्रहरुलाई दुर्गम क्षेत्रको रुपमा लिने गरिन्छ । फक्ताङ्लुङ गाउँपालिकाको इखाबु, लेलेप, तापेथोक, ओलाङ्चुङगोला तथा सिरिजङ्घा गाउँपालिकाको याम्फुदिन, खेबाङ र मामाङ्खेलाई कार्यक्षेत्र बनाएर रिड नेपालले काम गर्दै आएको छ  । 

कार्यक्रम फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष मुक्ति लाबुङ (राजन)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 


प्रतिक्रिया दिनुहोस्