डोको बुन्ने प्रतियोगितामा प्रथम भए धनबहादुर

ताप्लेजुङ । जारी दोस्रो ताप्लेजुङ औद्योगिक, कृषि तथा पर्यटन मेला साथै प्रदेश स्तरीय अर्गानिक महोत्सव २०७९ मा आज ढोको बुन्ने प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा फुङलिङ नगरपालिका वडा नं. ९ का धन बहादुर गुरुङ प्रथम भएका छन् । 

साथै फुङ्लिङ नगरपालिका वडा नं. ९ कै लक्ष्मण गुरुङ दोस्रो भएका छन् भने सिदिङवा ७ का काली बहादुर गुरुङ तेस्रो भएका छन् । यस्तै छोटो तर्फ लक्ष्मण गुरुङ प्रथम भएका छन् । उनले एक घण्टा १० मिनेटमा ढोको बुनी सकेका हुन् ।

प्रतियोगितामा १४ बर्षे बालक समेतले सहभागिता जनाएका थिए । प्रतियोगिताका विजेताले १० हजार, उपविजेताले ५ हजार र फस्ट रनरअपले २ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्दा सहभागी सबैले नगद ५ सयका दरले प्रोत्साहन रकम पाउने भएका छन् ।

डोकोको आकार दिएर चोयाको गुणस्तर, बनोटको प्रकृति, साटसज्जा, डोकोको गुणस्तरीयता र समयावधिलाई आधार मानेर अङ्क दिइएको महोत्सवका सहआयोजक घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोर्साईले जानकारी दिएका छन् । 

यस्तै भोलि चैत्र २३ गते दिनको १२ बजे टपरी बुन्ने प्रतियोगिता हुने छ । यो सँगै औद्योगिक प्रदर्शनी साथै साहित्यिक कार्यक्रम पनि सञ्चालन हुने छ । अपराह्न १ बजे बाट सञ्चालन हुने साहित्यिक कार्यक्रममा साहित्यिक कार्यक्रमका प्रमुख अतिथि चर्चित गजलकार  सुमन स्मारीकाको प्रस्तुति रहने छ । यो सँगै सुरज मादेन, रंजीता लिम्बू तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ । 

घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङ र घरेलु र साना उद्योग महासंघ महिला प्रदेश समिति मुख्य आयोजक रहेको मेला तथा महोत्सवको सह आयोजकमा घरेलु कार्यालय ताप्लेजुङ सहआयोजक रहेको छ । फुङलिङ नगरपालिका सहितका ताप्लेजुङका सबै स्थानीय तह, नेपाल पर्यटन बोर्ड, प्रदेश खेलकुद विकास बोर्ड, प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना र कृषि ज्ञान केन्द्र ताप्लेजुङ सहितका निकायले प्रवर्द्धनको भूमिका निर्वाह गरेको नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्