टपरी गाँस्ने प्रतियोगितामा विष्णुमाया बनिन् प्रथम

ताप्लेजुङ । ताप्लेजुङमा जारी दोस्रो ताप्लेजुङ औद्योगिक, कृषि तथा पर्यटन मेला अन्तरगत बिहिबार भएको टपरी गाँस्ने प्रतियोगितामा विष्णुमाया गिरी प्रथम भएकी छन् । त्यस्तै कुमारी मगर द्धितिय र देविमाया ओझा तृतिय भएका छन् ।

प्रथम भएकी गिरीले नगद २ हजार सहित प्रमाण पत्र प्राप्त गर्दा मगर र ओझाले क्रमश एक हजार र पाँच सय सहित प्र्रमाण पत्र प्राप्त गरेका छन् । नेपाली संस्कृति र परम्परा संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको टपरी गाँस्ने प्रतियोगितामा २ पुरुष सहित ५० जनाको सहभागिता रहेको थियो ।पात,सिन्का र बुनाईको गुणस्तरीयता,समय अवधि र आकारलाई मुल्याङ्कनको आधारमानी प्रतियोगिताको नतिजा तयार गरिएको आयोजकले जनाएको छ ।

पछिल्लो समयमा गाउँघरमा टपरीको प्रयोग कम हुँदै गएपछि यसको टपरी गाँस्ने सीप पनि हराउने जोखिम बढेकाले यो सीपको संरक्षण गरी टपरीको प्रयोग कायम गराउने साथै टपरी बुन्ने सिपलाई पुस्तान्तरण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र नेपाल पर्यटन बोर्डको सहकार्यमा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा मङ्गलबारदेखि सुरु भएको औद्योगिक, कृषि तथा पर्यटन मेला शनिबारसम्म जारी रहने छ ।


प्रतिक्रिया दिनुहोस्