डोको क्यारीको उपाधि रमेश लिम्बूलाई 

देबेन्द्र बानियाँ

ताप्लेजुङ। मंगलबार बाट सुरु भएको  दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेला साथै प्रदेशस्तरीय अर्गानिक महोत्सव अन्तर्गत डोको क्यारी रनको उपाधि फक्ताङ्लुङ गाउँपालिका वडा  नं. ३ लिङ्खिमका  रमेश लिम्बू जितेका छन् । उनले १ घण्टा ४ मिनेट ३१ सेकेन्ड मा निर्धारित दूरी पार गर्दै प्रथम भएका हुन् । प्रथम भएका लिम्बूले प्रमाण पत्र सहित ३० हजार प्राप्त गरेका छन् ।

त्यस्तै दोस्रो स्थान  मैवाखोला गाउँपालिका ६ का  प्रकाश लिम्बू भएका  छन् । उनले  निर्धारित समय १  घण्टा ४ मिनेट ४४ सेकेन्डमा दूरी पार गर्दै दोस्रो स्थान हासिल गर्न सफल भएका छन् । दोस्रो भएका लिम्बूले प्रमाण पत्र सहित २० हजार प्राप्त गरेका छन् । 

यस्तै फकतङ्लुङ  गाउँ पालिका २ का छात्र बहादुर  कार्कीले १ घण्टा ५ मिनेट  २० मा दूरी पार गर्दै तेस्रो भएका छन् । उनले प्रमाण पत्र सहित नगद रु १० हजार प्राप्त गरेको घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले जानकारी दिएका छन् । 

पुरानो बैंक लाइन तथा  खानेपानीको  कार्यालय अघि बाट सुरु भएको दौड प्रतियोगिता बुढा चोक मादेन चोक उकाली पनि हुँदै सानो पाथीभरा सम्म र फेरि सानो पाथीभरादेखि सुरु गरेकै स्थानमा आएर सकेको थियो । ताप्लेजुङ पाँचथर सङ्खुवासभा र मोरङ जिल्लाका गरी जम्मा ४१ धावकहरूले दौडमा सहभागिता जनाएका थिए । जसमा १ महिलाको पनि सहभागिता रहेको आयोजकले जनाएको छ ।

स्थानीय स्तरमै आर्थिक सहयोग पुर्याउने लक्ष्य र उद्देश्य साथमा ताप्लेजुङमा यो मेला गत वर्ष बाट सुरु भएको हो । तस्बिरः सन्तोष पुर्कुटी\रासस


प्रतिक्रिया दिनुहोस्