टीकाराम गौतम स्मृति प्रतिष्ठानद्वारा पत्रकार पालुङवा पुरस्कृत


ताप्लेजुङ । टीकाराम गौतम स्मृति प्रतिष्ठानद्वारा पत्रकार बसन्त पालुङवा पुरस्कृत भएका छन् । पत्रकार पालुङवा सँगै एकजना समाजसेवी र नेपाल रेडक्रस सोसाइटीको एक उपशाखालाई आज रेडक्रसको भवनमा एक कार्यक्रमको आयोजना गरी पुरस्कृत गरिएको हो । 

प्रतिष्ठानले जनही १० हजार १ सय ५ रुपैयाँसहित रेडियो तमोरका स्टेसन म्यानेजर समेत रहेका पालुङवालाई सम्मान सहित पुरस्कृत गरेको हो । पालुङवा पत्रकार महासंघ ताप्लेजुङका सहसचिव सँगै अन्नपूर्णपोष्ट दैनिकमा पनि कार्यरत छन् । 

यस्तै ताप्लेजुङको खेवाङ घर भई हाल झापा बस्दै आएका समाजसेवी प्रेमप्रसाद दाहाललाई पनि जनही १० हजार एक सय ५ रुपैयाँले पुरस्कृत गरिएको छ । सिरिजङ्गा गाउँपालिका वडा नं. ७ खेवाङका दाहालले चराचुरुङ्गी सहितका अन्य वन्यजन्तुलाई पानी खान सहज होस् भनेर जङ्गलको बीचमा रहेको ढुङ्गा खोपेर ठाउँठाउँमा पानी जमाउने पोखरी बनाएका थिए । उनको यो कार्यको ब्यापक प्रशंसा भएको थियो ।

साथै उत्कृष्ट कार्य सम्पादन गर्ने नेपाल रेडक्रस सोसाइटीको हाङ्देवा उप शाखालाई नगद १५ हजार १ सय ५ रुपैयाँ सहित सम्मान गरिएको प्रतिष्ठानका उपाध्यक्ष विकास गौतमले जानकारी दिएका छन् ।

प्रदेश सरकारका पूर्व मन्त्री प्रताप प्रकाश हाङ्गामले तीनवटै पुरस्कार बितरण गरेका थिए । सम्मानकै बीच प्रतिष्ठानले आफ्नो वार्षिक प्रगति प्रतिवेदन समेत प्रस्तुत गरेको छ । 

रेडक्रसको जिल्ला सभापति रहेकै बखत २०६६ कार्तिक ११ गते गौतमको निधन भएको थियो । गौतमको परिवारले उनको स्मृतिमा प्रतिष्ठान खोलेर सामाजिक सेवा, पुरस्कार तथा सम्मान बितरण गर्दै आइरहेको छ भने एम्बुलेन्स पनि सञ्चालनमा ल्याएको छ । 

गौतमको २०१३ बैशाख ९ गते जन्म भएको थियो । यही जन्मदिनको अवसर पारेर प्रतिष्ठानले वर्षेनी पुरस्कार तथा सम्मान वितरणको कार्यक्रम राख्दै आएको छ । 


प्रतिक्रिया दिनुहोस्