लङवा वंशावली पुस्तक विमोचन

ताप्लेजुङ। साङ्धुङगेहाङ सेरेङ लङवाहरुको वंशावली पुस्तक विमोचन गरिएको छ । लङवाहरुको माङेना यक स्थल थुकिमाको माहाश्रेङमा शनिबार साङधुङगे मासेरेङ यक सङ्जुम्भो तदर्थ समितिका केन्द्रिय अध्यक्ष सेसेमी सेरेङ नाल्बोको प्रमुख आतिथ्यतामा वंशावली पुस्तक विमोचन गरिएको हो ।

सेरेङ लङवाहरुको इतिहास, वंशको उत्पति र विस्तार समेटिएको पुस्तक प्रथम पटक तयार पारी बिमोचन गरिएको साङ्धुगेहाङ सेरेङ लङवा समाजका केन्द्रिय अध्यक्ष कर्ण लङ्वाले बताउनुभयो । अध्यक्ष लङ्वाका अनुसार वंशावली पुस्तकमा ५३ औं पुस्ता सम्मको विवरण समेटेर पुस्तक प्रकाशन गरिएको छ । पछिल्लो समयमा विभिन्न जातजातिले आ–आफ्नो समुदायको विवरणलाई संरक्षण गर्ने उद्देश्यले वंशावली प्रकाशन गर्ने प्रचलनको बृद्दी भएको छ । विभिन्न ठाउँमा बस्दै आएका एउटै थरका मानिसहरुले वंशावलीमा उल्लेख भएको नम्बर अनुसार साईनो–सम्बन्ध प्रष्ट्याउन सहजहोस भन्ने उद्देश्यका साथ वंशावली निर्माण गरिएको बताइएको छ ।

प्रकाशित वंशावलीका अनुसार थुकिमाको वरक भन्ने स्थानमा थकित भई खोलाको छेउमा आराम गरि बसेको समयमा जन्मिएको छोराको नाम र खोला दुबैको नाम लङ्वा रहन गएको ईतिहास उल्लेख गरिएको छ । समयानुसार लङवा नाम नै थर हुन गएको र मेरिङ्देन ५ वरक र नाल्बुको बिचमा बग्ने खोलाको नाम समेत लङवा खोला रहन गएको बताइएको छ । हाल लङवा थरका मानिसहरु सबैभन्दा बढी थुकिमा, लिङ्तेप, सान्थाक्रा, ढुङ्गेसाङ्घु, फाकुम्बा लगायतको क्षेत्रमा बसोबास गर्दै आईरहेका छ्न ।

जिल्ला बाहिर ईलाम, झापा, सुन्सरी, सिक्किम दार्जिलिङ, भुटानतिर समेत लङ्वाको बसोबास रहेको समाजका अध्यक्ष लङवाले जानकारी दिनुभयो । लङवा वंशावलीमा छुट भएका परिवारको विवरण भए आगामी दिनमा थप गर्दै जाने समाजले बताएको छ । बिमोचन कार्यक्रममा जनप्रतिनिधी, विभिन्न थर वंशका प्रतिनिधि स्थानीय लङवा परिवाहरु लगायतको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्