मेरिङदेन गाउँपालिकाको एक वर्षे उपलब्धि सार्वजनिक

ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा जम्मा ९ वटा स्थानीय तहहरू रहेका छन् । जसमा ८ वटा गाउँपालिका र एक वटा नगरपालिका । उक्त स्थानीय तह मध्ये मेरिङदेन गाउँपालिकाले आफ्नो एक वर्षे उपलब्धि सार्वजनिक गरेको छ । 

पालिकाले विभिन्न शाखाको उपलब्धिलाई  बुँदागत रुपमा उल्लेख गर्दे एक वर्षको मुख्य उपलब्धिहरू सार्वजनिक गरेको हो । 

यस्तो छ मेरिङदेन गाउँपालिकाको एक वर्षे उपलब्धिहरू :

पूर्वाधार विकास
पूर्वाधार विकास तर्फ गाउँपालिकाका भवन अन्तिम चरणमा पुगेको छ । यस्तै रोड सोलिङ २ हजार ४२० मिटर सम्पन्न भएको र सडकको नयाँ ट्रयाक ओपनिङ ११.५ किमि सम्पन्न भएको छ । मोटरेवल पुल तर्फ लङ्वा खोलामा २६.२ मिटरको पुल निर्माण गरिएको छ भने, सामुदायिक भवन ३, कृषि सहकारी ३ र एक कभर्डहल (दोभान) गरि ७ वटा भवन निर्माण गरिएको पालिका अध्यक्ष युकहाङ बीर हांगाम (डम्बर) ले बताएका छन् ।

उनका अनुसार स्वच्छ खानेपानी २१२ घरमा व्यवस्था गरिएको छ । सान्थाक्रा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना साथै अति विपन्न ८९ परिवारलाई जस्ता पाता वितरण गरिएको छ । घरमा शून्य सुत्केरी अभियान अन्तर्गत पालिकाद्वारा एम्बुलेन्स खरिद तथा सञ्चालन गरि सुत्केरी बिरामीहरूलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिनुका साथै पालिका भित्रका अन्य बिरामीहरूलाई कम शुल्कमा २४ सै घण्टा एम्बुलेन्स सेवा उपलब्ध  गराइएको छ ।

यस्तै ६ वटै वडाहरूमा नसर्ने रोगहरूको स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिएको छ । विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम सञ्चालन गरि पालिकाका विद्यालयमा पोषण, दाँत, कान तथा आँखा गरि जम्मा १ हजार ७९१ जना विद्यार्थीहरूमा समस्या पत्ता लागि आवश्यक उपचारका लागि सल्लाह प्रदान गरिएको छ भने नियमित खोप, कोभिड १९ विरुद्धको खोप अभियान सञ्चालन गरेको पनि पालिकाले जनाएको छ । 

कृषि
कृषितर्फ कीरा नियन्त्रणको लागि एक हजार कृषकलाई विषादी वितरण गरी हिउँदे तथा वर्षे बीउ ६ वटै वडाहरूमा वितरण गरिएको छ । जसमा टनेल २१० घरधुरीलाई वितरण गरिएको छ भने, ६ वटै वडामा अकबरे खोर्सानी खेती कार्यक्रम सम्पन्न भएको भएको छ ।

सिम्ले, खाम्लुङमा गरिएको आलु पकेट कार्यक्रमबाट  १८ घर लाभान्वित भएको कृषि प्राविधिक रविना हाङगामले जानकारी दिएकी छिन् । किसान सूचीकरण कार्यक्रममार्फत प्रत्येक वडाका ३ जनाका दरले १८ जना सूचिकृत भएका छिन् । यस्तै अलैंची पकेट कार्यक्रम अन्तर्गत थिङलाबुका २५ घर लाभान्वित भएका छन् भने, कृषकहरूलाई तालिम, सिँचाइका लागि रिजर्भ टयाङ्की निर्माण गरिएको पनि उनले जानकारी दिएकी छिन् । 

पशु शाखातर्फ निःशुल्क औषधी खरिद तथा वितरण गरिएको छ । बंगुर पकेट विकास कार्यक्रम, बोयर बोका वितरण, कृषि पशुपन्छी मत्स्य तथ्याङ्क संकलन तथा पशु रगत नमुना संकलन गरिएको छ । यो सँगै कृषि र पशु सेवा शाखा बिच सहकार्य गरी किसान सूचिकरण गरिएको छ ।  

मेरिङदेन ५ थुकिमामा पशुसेवा केन्द्र विस्तार गरिएको छ भने, वडा नं. ५ र ६ मा निशुल्क औषधी उपचार घुम्ती सेवा सञ्चालन गरिएको छ । पालिकाबाट निशुल्क औषधी वितरण, भेडा बाख्रा कुखुरा सुँगुरलाई निशुल्क खोप कार्यक्रम, कृषि सम्बन्धी विविध तालिम सञ्चालन साथै बंगुर विकास कार्यक्रम र स्थलगत सेवा प्रदान गरेको पालिकाले जनाएको छ ।

 शिक्षा
त्यस्तै शिक्षा तर्फ परीक्षा प्रणालीमा एकरूपता कायम गर्न कक्षा २–९ सम्म पालिका स्तरीय वार्षिक परीक्षा जिल्ला मै पहिलो पटक सफलतापूर्वक सञ्चालन भएको पालिकाले दाबी गरेको छ । क्षमता विकास तालिमतर्फ बाल विकास सहजकर्ताहरुको लागि ज्ञान सीप र धारणा विकास तालिम सञ्चालन गरिएको छ भने पृथ्वी मा.वि., खाम्लुङलाई प्रदेश स्तरीय नमुना मा।वि। बनाउन सफल भएको पालिकाले जनाएको छ । 

पालिका अन्तर्गत ३६ वटा विद्यालयका प्रधानाध्यापकहरूसँग २र२ महिनाको अन्तरालमा नियमित प्रधानध्यापक बैठक सञ्चालन भइरहेको छ । जनज्योति, राजारानी र पृथ्वी मावि गरि तिन वटा विद्यालयको भवन निर्माण गरिएको छ । विद्यालयहरूको भौतिक, प्रशासनिक, शैक्षिक तथा आर्थिक पक्षको पदाधिकारी तथा कर्मचारीले संयुक्त अनुगमन गर्दै आएका छन् ।

विद्यालय स्तरीय राष्ट्रपति रनिङ–शिल्ड प्रतियोगिता सुर्यदेवी मा.वि. सान्थाक्रामा सम्पन्न भएको थियो भने, चौथो अध्यक्ष रनिङ–कप पुरुष तथा महिला फुटबल पनि सम्पन्न भएको छ । यस्तै पुरुष तथा महिला भलिबल, डबल पुरुष ब्याडमिन्टन पालिका स्तरीय रुपमा सञ्चालन गरिएको थियो । विभिन्न भाषाका शिक्षकहरुसँग बैठक बसि गुनासो सम्बोधन गरिनुका साथै पालिकाले २०८० सालको भित्तेपात्रो प्रकाशन गरेको पनि जनाएको छ ।

सामाजिक
यस अघि त्रैमासिक रुपमा कुमारी बैँक मार्फत वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता बैंक, कर्मचारी तथा जनप्रतिनिधिको रोहबरमा वडा कार्यालयबाट वितरण गर्न सुरु गरिएको छ । स्थानीय सञ्चार माध्यमहरुबाट व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता प्रणाली सम्बन्धी सूचना मूलक सन्देश नियमित रुपमा प्रसारण गरिएको जनाइएको छ । यस्तै सर्वसाधारणलाई सूचित गराउन व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता प्रणाली सम्बन्धी फ्लेक्स प्रिन्ट वडा कार्यालय र अन्य सार्वजनिक स्थलमा राखिएको छ ।  

वैशाख १ देखि ७ गते सम्म ६ वटै वडा कार्यलयमा व्यक्तिगत घटना दर्ता सप्ताह  सञ्चालन गरिएको छ । वडा नं. १ थिङ्लाबु र वडा नं. २ सान्थाक्राको वडा कार्यलयमा  अनलाइन व्यक्तिगत घटना दर्ता प्रणाली सुरु गरिनुका साथै अन्य वडाहरूमा इन्टरनेटको विस्तारसँगै अनलाइन दर्तालाई अगाडि बढाइने पालिकाले जनाएको छ ।

महिला
६ वटै वडा कार्यलयमा गरिब तथा विपन्न महिला सशक्तीकरण कार्यक्रम गरिएको छ । जसमा २१० जना महिला लाभान्वित भएका छन् । दलित महिला लक्षित कार्यक्रम अन्तर्गत ६ जना महिलालाई तिन महिने सिलाई कटाई तालिम पालिकाले प्रदान गरिएको  छ ।  

६ वटै वडाहरूमा अपाङ्गहरूको विवरण संकलन गरिनुका साथै अपाङ्ग भएका क वर्गका ७, ख वर्गका १५, ग वर्ग १२, घ वर्गका २० गरि जम्मा ५४ जना अपाङ्गता भएका व्यक्तिहरूलाई परिचय वितरण गरिएको छ । कार्यपालिका बैठकबाट मेरिङदेन गाउँपालिका लैंगिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि २०७९ पारित गरिनुका साथै बालविवाह अन्त्यको लागि किशोरी सशक्तीकरण कार्यक्रम सञ्चालन निर्देशिका २०७९, अनुसार मेरिङदेन–२, को सुर्यदेवी मा।वि मा सञ्चालन भएको छ ।

तालिम तथा कार्यक्रम 
वडा नं. २,३,४ मा सहभागितात्मक ग्रामीण लेखाजोखा (पि.आर.ए.) तालिम सञ्चालन गरिएको छ भने नं. २, ३ र ४ मा, ८ दिने उद्यमशीलता तालिम सञ्चालन गरिएको जनाइएको छ । यस्तै वडा नं. २ मा दश दिने गुडिया बनाउने सीप विकास तालिम र ५ दिने मौरी पालन सम्बन्धी सीप विकास तालिम सञ्चालन गरिएको पालिकाले जनाएको छ । वडा नं. ४ मा एक महिने काठको फर्निचर सम्बन्धी सीप विकास तालिम साथै १५ दिने हाते होजियारी सम्बन्धी सीप विकास तालिम सञ्चालन गरिएको छ । वडा नं। ३ मा ७ दिने व्यावसायिक तरकारी खेती सीप विकास तालिम पनि सञ्चालन गरिएको पालिकाले जनाएको छ । 

सूचना तथा प्रविधि
सूचना प्रविधिद्वारा प्रशासनिक कार्य क्षमता अभिवृद्धि गरिएको छ ।  दोस्रो पटक एफ.आर. ए. सम्पादन साथै पालिकाद्वारा एल।आई।एस।ए। स्वमूल्याङकीत ९४५.५०, सिसि टिभीलाई आवश्यक मर्मत सम्भार गरिएको छ । न्यायिक समिति अन्तर्गत ४७ वटा उजुरी दर्ता भएको जसमा ४२ वटा छलफल गरिएको ३६ वटा मिलापत्र गरिएको साथै मेलमिलापकर्तालाई पालिकाले आधारभूत मेलमिलाप तालिम प्रदान गरेको छ ।

 सडक
सडक सोलिङ अन्तर्गत ७४ जनालाई १०० दिनको रोजगारी प्रदान गरिनुका साथै गोरेटो बाटो सोलिङ तथा मर्मत गरिएको छ । 

बिपदव्यवस्थापन 
आगलागी तथा विपद्जन्य घटनाका पीडित १३ घर परिवारलाई नगद सहित ३० घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ । जटिल रोग लागेका १७ जना बिरामीलाई जनही २० हजारका दरले उपचार खर्च वितरण गरिएको छ । यस्तै जलवायु परिवर्तन न्यूनिकरणका लागि प्रारम्भिक वातावरणीय परिक्षण आई.ई.ई. र वातावरणीय प्रभाव मूल्याङ्कन ई.आई.ए. को पनि सुरुवात गरिएको जनाइएको छ । 

पर्यटन 
गाउँपालिका भित्र रहेका मेरिङदेन झरना, गुराँसे पोखरी, हाङलुङ पार्क, माश्रेङ माङ्गेना यक लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण एवम् प्रर्वद्धन गर्न आवश्यक कार्य सञ्चालन गरि रहेको अध्यक्ष हांगामले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्