घरेलु तथा साना उद्योग कार्यालयद्धारा खोक्लिङमा उधमशीलता विकास तालिम सम्पन्न

ताप्लेजुङ । मिक्वाखोला गाउँपालिका वडा नं. १ खोक्लिङमा उधमशीलता विकास तालिम सम्पन्न भएको छ ।


घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङको आयोजनामा ८ दिने उधमशीलता विकास तालिम बुधबार सम्पन्न भएको हो ।

तालिममा वडाका २७ जना महिलाहरुलाई घरेलु तथा साना उद्योग कार्यलय ताप्लेजुङका कार्यलय प्रमुख युवराज घोर्साई, कार्यालका उधमशीलता सहकर्ता नविन भट्टराई र चन्द्र रिजाल, रेडियो काबेलीकी सञ्चारकर्मी एलिना दियालीले प्रशिक्षण दिएका थिए ।


समापन कार्यक्रममा बोल्दै १ नम्बर वडा अध्यक्ष राम कुमार लिम्बुले घरेलु तथा साना उद्योग कार्यालयले गरेको उधमशीलता विकास तालिमले महिलाहरुलाई उद्यमी बनाउन प्रेरित गरेको बताउँदै आवश्यक सहयोग गर्न आफु तयार रहेको बताए ।


त्यस्तै घरेलु कार्यालय ताप्लेजुङका प्रमुख घोर्साईले उत्त तालिम उद्योग सञ्चालन गरि रहेका पुराना उद्यमी साथै नयाँ उद्योग खोल्न चाहाने उद्यमीलाई उत्प्रेरित गर्न,उद्योग सञ्चालन गर्नु पुर्वको अवस्था, उद्योग सञ्चालनपछिको अवस्था उत्पादित वस्तुको बजारीकरण गर्ने लगायतका कुरा सिकाउन आयोजना गरेको बताए ।


साथै उनले सहभागीलाई आफुले सिकेको ज्ञान व्यवहारमा उतार्न र आ–आफ्नो स्थान सुहाउँदो उद्यम गरेर आय आर्जनतर्फ लम्किन सल्लाह दिँदै अन्य तालिम सहित केहि सहयोग गर्नु परे घरेलु तथा साना उद्योग कार्यालयले सहयोग गर्ने प्रतिवद्धता जनाए ।


तालिममा आफ्नो दुधे बच्चा बोकेर महिलाहरु सहभागि भएका थिए भने उनिहरुले आफु केहि सिकेर उद्यमी बनेर आफ्नै गाउँमा केहि गरौँ भन्ने सोचि रहेको बेला उद्यमशीलता तालिमले सहयोग पुगेको बताए ।


प्रतिक्रिया दिनुहोस्