ताप्लेजुङमा ६ महिनामा एक सय ५ जना बलात्कारबाट पीडित

ताप्लेजुङ ।  पछिल्लो ६ महिनामा ताप्लेजुङमा एक सय ५ जना बलात्कारबाट पीडित भएका छन् ।  नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को अर्धवार्षिक समीक्षाले यस्तो देखाएको हो । 

आज नेपाल पत्रकार महासंघ जिल्ला शाखा ताप्लेजुङको सभा हलामा सम्पन्न भएको समीक्षा कार्यक्रमका अनुसार १२६ जना बलात्कारका पीडक रहेका छन् । जसमा फुङ्लिङ नगरपालिकाका १९ जना रहेका छन् । उनीहरूलाई माघ १९ मा पुर्पक्षका लागि जेल चलान गरिएको छ । 

यस्तै आठराई त्रिवेणी गाउँपालिकाका १२ जनालाई बैशाख १२ गते पुर्पक्षका लागि जेल चलान गरिएको छ । पाथिभरा याङवरका २४ जना र मैवाखोलाका ४५ जना फरार रहेका छन् । साथै १८ जना अनुसन्धानको दायरामा रहेका छन् । 

यस्तै समीक्षा अवधिमा घरेलु हिंसाबाट १४४ जना पीडित भएका छन् । १४७ जना पीडक रहेका छन् । जसमा फुङ्लिङ नगरपालिकाका ११० जना र मेरिङदेनका ३७ जना रहेका छन् । उक्त घटना मिलापत्रको सिलसिलामा रहे पनि फुङ्लिङका २५ जना पीडकको भने मिला पत्र भएको नै छन । 

समीक्षा प्रतिवेदन अनुसार, बहुविवाहबाट ३३ जना पीडित भएका छन् भने, ७० जना पीडक रहेका छन् । उनीहरु सबै मिक्वाखोला गाउँपालिकाका हुन् । उनीहरूको अनुसन्धान जारी रहेको छ । सोही अवधिमा ३७ जना हत्याबाट पीडित भएका छन् । जसमा ८६ जना पीडित रहेका छन् । उनीहरु पाथिभरा याङवरक र फक्ताङलुङ गाउँपालिकाका हुन् । ३७ जना अनुसन्धानका दायरामा रहेका छन् भने ४९ जना धरौटीमा छुटेका छन् । 

प्रतिवेदनमा फक्ताङलुङ गाउँपालिका–६ लेलेपकी ६ वर्षीया सोनिया लिम्बुको हत्या तथा १९ वर्षीया बलात्कार पीडित महिलाले छोरी जन्माएपछि पीडित र परिवारले भोग्नुपरेका विषयलाई समावेश गरेको छ । सिरीजङगा गाउँपालिका–३ सिकैचामा घरायसी विवादमा पति लक्ष्मण राईले चिर्पट प्रहार गरि मृत्युवरण गरेकी ३१ वर्षीया निशा राईको ३ जना छोराछोरीको विचल्ली भएको उल्लेख गरेका छन् ।

 सहोदर दाजुबाट बलात्कृत भएकी फरक क्षमताकी २४ वर्षीया महिलाको पीडा र घरेलु हिंसा पीडित महिलाको समस्याबारे समेत चर्चा भएको छ । इन्सेक प्रतिनिधि देवराज गुरुङले प्रतिवेदन सार्वजनिक गर्दै भने, ‘मानवअधिकारसँग सम्बन्धित घटना छुट्न हुँदैन । त्यही भएर छुटेका घटना तथा मानव अधिकारको विषयमा सबैको ध्यान जानुपर्छ ।’ 

इन्सेक मानवअधिकारको ऐना भएको कोशी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री बल बहादुर साम्सोहाङले बताए । मानवअधिकारका घटनाबाहेक आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको समेत तथ्याङ्क संकलन गर्नुका साथै राज्य र गैरराज्य पक्षलाई मानव अधिकारको पालना गराउन प्रेरित गर्ने काम गरेको बताएका हुन् । 

कार्यक्रमका प्रमुख अतिथि साम्सोहाङले भने, ‘पीडितलाई न्याय र पीडकलाई कारवाहीको आवाज निरन्तर उठाओस् । मानव अधिकारको विषयमा सदैव अग्रभागमा देख्न पाइयोस् ।’ जिल्ला भूमि आयोगका अध्यक्ष कृष्ण कुमार बस्नेतले हालसम्म १ हजार ४ सय १४ जनाको निवेदन प्राप्त भएको बताए । 

भूमिहीन र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासको प्राप्त निवेदनको आधारमा सत्य तथ्य जाँच गरि लालपुर्जा प्रदान गर्ने तयारी रहेको अध्यक्ष बस्नेतले जानकारी दिए । अध्यक्ष बस्नेतले भने, ‘घर र जमिन विहीन हुन नदिने सरकारको योजना छ । त्यही अनुरूप आयोगले काम गरेको छ ।’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कुशराम कार्कीले मानव अधिकारको विषयमा प्रहरी संवेदनशिल हुने गरेको बताए । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका कार्कीले जिल्लामा चालु आ.व.मा १८ वटा बलात्कारका घटना दर्ता भएको जानकारी दिए । तीमध्ये ११ वटा फर्छौट, २ वटा घटनाका आरोपित फरार र १ वटा घटनामा अनुसन्धान भइरहेको छ । 

कर्तव्य ज्यान मुद्दाका ५ वटा घटनामध्ये ३ वटा घटना पतिले पत्नी हत्या गरेको उल्लेख छ । घरेलु हिंसाका ३० वटा घटना दर्ता भएकोमा २५ वटा घटनाको मिलापत्र गरिएको छ । 


प्रतिक्रिया दिनुहोस्