जिल्लामा कृषि तथा वन सम्बन्धि ल्याब नहुँदा समस्या

ताप्लेजुङ । नेपाल आफैमा कृषि प्रधान देश हो । यस अर्थमा सबै जिल्लामा कम्तिमा एउटा कृषि तथा वन सम्बन्धि रोग,किरा पत्ता लगाउने साथै माटो परिक्षण गर्ने प्रयोगशाला (ल्याब) हुनु पर्ने हो । तर जिल्लामा मात्रै नभएर कोशी प्रदेशमा समेत एउटा पनि प्रयोग शाला नहुनु दुःखद कुरा भएको ताप्लेजुङ डिभिजन वन कार्यालय ताप्लेजुङका योजना शाखा अधिकृत प्रमेश्वर पाश्वानले बताएका छन् । मंगलबार कार्यालयले गरेको वार्षिक कार्यक्रम प्रगति समिक्षा बैठकमा बोल्दै पासवानले सो कुरा बताएका हुन् ।


उनले भने,“जिल्लामा मात्रै होईन प्रदेशमा नै प्रयोगशाला छैन । जस्ले गर्दा एकातिर आफुले सिकेकोे ज्ञानलाई व्यवहारमा उतार्न पाईएको छैन भने अर्कातर्फ कृषक साथै स्थानीय आफुले लगाएको बालीनाली र बोट बिरुवा मरेर चिन्तित छन् । यसतर्फ सबै स्थानीय तहले बजेट व्यवस्थापन गर्न सके जिल्लामा एउटा प्रयोगशाला बनाएर स्थानीयको समस्यालाई समाधान गर्न सकिन्छ ।”
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले ल्याबको विषयलाई ठुलो रकम लाग्ने भएकाले स्थानीय तहसँग समन्वय गरेर साथै प्रदेश सरकारसँग बजेट माग गरेर अघि बढ्ने बताए ।


कार्यक्रम प्रगति समिक्षा बैठकमा बोल्दै योजना शाखा अधिकृत पाश्वानले कार्यालयलाई चालु वर्षमा विनियोजित २ करोड ३४ लाख ६० हजार बजेट अनुसार कार्य सम्पन्न भएको विवरण प्रस्तुत गरेका थिए । उनका अनुसार कार्यालयले सामुदायिक वनमा उद्यमशीलता अभिवृद्धि तालिम, सामुदायिक वनमा रेकर्ड किपिङ तालिम, प्रदेश हरित कार्यक्रम अन्तर्गत एक लाख एक वर्षे विरुवा उत्पादन तथा वितरण साथै सोहि कार्यक्रम अन्तर्गत मेरिङदेन –५ थुकिम्मा ५ हेक्टर वृक्षरोपण तथा गोडमेल सम्पन्न भएको छ ।

साथै प्रदेश हरित कार्यक्रम अन्तर्गत नै मैवाखोलाको रमितेमा ५ हेक्टरमा वृक्षरोपण तथा गोडमेल, सोहि कार्यक्रमको कृषी वन प्रणाली प्रवद्र्धन कार्यक्रमको लागि जिल्लाका १० कृषकलाई एक÷एक लाख वितरण, राष्ट्रि वन तथा विकास कार्यक्रम अन्तर्गत ३० हजार बहु बर्षे विरुवा उत्पादन तथा वितरण, विद्यालय वातावरण सुधार कार्यक्रम अन्तर्गत जिल्लाका ४ वटा सामुदायिक विद्यालयमा दराज सहित वातावरण सम्बन्धि पुस्तक वितरण लगायत कार्यक्रम गरिएको कार्यालयले जनाएको छ ।


योजना शाखा अधिकृत पाश्वानले सबै स्थानीय तहले चासो दिएर आगामी आर्थिक वर्ष २०८०÷८१ मा ल्याब बनाउन पहल गरे विशेष गरि ताप्लेजुङमा अलैँची र लोँठ सल्लामा देखिएको किरा लाग्ने र मर्ने समस्याको समाधान गर्न सकिने भएकाले यस विषयलाई पनी ध्यान दिन आग्रह गरे । कार्यक्रममा फुङलिङ नगरपाकिाका नगर प्रमुख अमिर मादेनले जनताको माग अनुसार विरुवा उत्पादन र वितरण गर्न सुझाव दिएका थिए भने प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले अनुदान वितरण साथै अन्य कार्यक्रमलाई विकेन्द्रित गर्न सुझाब दिएकी थिईन् ।


प्रतिक्रिया दिनुहोस्