स्थानीयलाई व्यवसायसँग जोड्न मैवाखोलाले सहुलियत कर्जा दिने

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले व्यवसाय गर्न चाहने स्थानीयहरुलाई सहुलियत कर्जा दिने भएको छ । पालिकाले केहि गर्न खोज्ने तर स्रोत साधनको अभाव भएर बसेका व्यक्तिहरुलाई उत्पादन सँग जोड्न सहुलियत कर्जा कार्यक्रम आगामी आर्थिक वर्ष २०८०÷८१ बाट नयाँ कार्यक्रमको रुपमा अघि सारेको छ ।

जस्का लागि पालिकाले नीति कार्यक्रम तथा बजेटमा समावेश गर्दै २५ राख रुपैँया बजेट छुट्टाएको पालिका अध्यक्ष विजय प्रकाश वनेमले जनाएका छन् । उनले भने,“बैँकले धितो माग्छ । चर्को व्याज लिन्छ । स्रोत साधन अभाव भएर सञ्चालन गरेको व्यवसाय अगाडी बढाउन नसेका साथै नयाँ व्यवसाय गर्न स्रोत साधन नभएका तर व्यवसाय गर्न चाहने व्यवसायीहरु विशेष गरि युवाहरुलाई हामीले व्यसायतर्फ उन्मुख गराएर आत्मनिर्भर बनाउनको यो कार्यक्रम अघि सारेका हौँ । जस्का लागि हामीले यो पटक २५ लाख रुपैँया बजेट छुट्टाएका छौँ । आउँदा आर्थिक वर्षमा यसमा बजेट थप गर्दै जाने छौँ ।”


मैवाखोला स्थायी बसोबास भएका व्यवसाय गर्न चाहने विशेष गरी युवाहरुको लागि कार्य विधी नै बनाएर सहुलयत कर्जा प्रदान गर्ने पालिकाले जनाएको छ । त्यस्तै मैवाखोला गाउँपालिकाले बेरोजगार अन्त्यका लागि अर्को नयाँ कार्यक्रमको रुपमा बेरोजगार युवाहरुको लागि अध्यक्ष रोजगार कार्यक्रम पनि ल्याएको अध्यक्ष वनेमले बताए । विगतको जस्तो कार्यकर्ताको लागि मात्रै नभएर यो कार्यक्रम पालिकाले नियमसँगत ढङ्गले गर्ने बताएका छन् ।


विगतमा प्रधानमन्त्री रोजगार कार्यक्रममा राजनीतिक दलका कार्यकर्तालाई मात्रै समावेश गराएको भन्ने कुरा उठेको थियो नि भन्ने प्रश्नमा उनले भने,“ विगतको जस्तो हुँदैन । पालिकाले सार्वजनिक सुचना निकाल्छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले पालिकाका सबै बेरोजगारलाई समेट्दैन । नसमेटिएका युवाहरुलाई अध्यक्ष रोजगार कार्यक्रमले समेट्ने छ । यसमा पार्टी भन्ने कुरा हुँदैन । साथी भन्ने कुरा हुँदैन । त्यसमा वास्तविक बेरोजगारको सम्बोधन हुनेछ ।”


पालिकाले आर्थिक वर्ष २०८०÷८१ को लागि असार ९ गते ३९ करोड ६९ लाख ४६ हजार ३ सय ८० रुपैँयाको बजेट प्रस्तुत गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्