कञ्चनजंघा साहित्यिक प्रतिष्ठानद्धारा आयोजित खुला गजल प्रतियोगितामा होम दाहाल बने प्रथम

३० असार २०८०, शनिबार

ताप्लेजुङ । कञ्चनजंघा साहित्यिक प्रतिष्ठानको आयोजनामा शनिवार ताप्लेजुङमा भएको खुल्ला गजल प्रतियोगितामा होम दाहाल प्रथम भएका छन् । प्रतिष्ठानद्धारा २ सय १० औं भानु जयन्तीको अवसरमा आयोजित खुल्ला गजल प्रतियोगितामा दाहाल प्रथम भएका हुन् ।

त्यस्तै जीवन कालिकोटे द्धितिय भएका छन् भने बिपना बियोगी तृतिय भएकी छन् । नियाराफुङ मादेन र मिराक लिम्बूलाई बाल प्रोत्साहन पुरस्कृत गरिएको कञ्चनजंघा साहित्यिक प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद भट्टराईले जानकारी दिए ।

प्रथम भएसँगै दाहालले नगद १० हजार,द्धितीय हुने कालिकोटेले ८ हजार र तृतीय हुने वियोगीले ६ हजार रुपैयाँका साथ प्रमाणपत्र पाएको आयोजक संस्थाले जनाएको छ । गजल प्रतियोगिताको भरतकुमार गुरुङ र छुनु दाहाल निर्णायक मण्डलमा रहेका थिए ।

कार्यक्रममा कञ्चनजंघा साहित्यिक प्रतिष्ठानले प्रकाशित गरेको ‘खुल्ला आकास’समेत बिमोचन गरिएको थियो । फुङलिङ नगरप्रमुख अमिर मादेन,नेपाल स्रष्टा समाजका अध्यक्ष एवम् गोरखापत्र संस्थानका पूर्व प्रधान सम्पादक ओम‘रोदन’श्रेष्ठ तथा बरिष्ठ समालोचक एवम् प्राध्यापक डाक्टर लक्ष्मणप्रसाद गौतमले संयुक्त रुपमा ‘खुल्ला आकास’ बिमोचन गरेका थिए ।

‘खुल्ला आकास’ माथि साहित्य स्रष्टा समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी टंककहादुर भट्टराईले समिक्षा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्