मैवाखोला पहिरो पीडितलाई गोर्खा वेल्फेयर ट्रष्टद्धारा राहत सामाग्री वितरण

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो प्रभावित ७९ परिवारलाई गोर्खा वेल्फेयर ट्रष्टको प्रदेश कार्यालय धरानले राहत सामग्री वितरण गरेको छ ।

आईतबार गाउँपालिकाको समन्वयमा पालिकाका पहिरो प्रभावित वडा नं ४ ओदकका ६१ र ताम्राङका १८ गरी ७९ घरधुरीका लाई राहत वितरण गरिएको ट्रष्टको प्रदेश कार्यालय धरानका प्रमुख कृष्णमान गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार ७९ सेट बन्दोबस्तिका सामाग्री,७९ सेट सरसफाईका सामाग्री तथा ७९ सेट आत्मसम्मान अर्थात् स्वच्छताका सामाग्रीका साथमा वैकल्पिक उर्जाको लागि १८ थान सोलार प्यानल पहिरो प्रभावित परिवारलाई बितरण गरिएको छ ।

राहत वितरण कार्यक्रममा बोल्दै पालिका अध्यक्ष विजय प्रकाश वनेमले कम्तिमा १५ देखि २० दिनमा अस्थाई घर वनाउने योजना अन्तरगत निर्माणाधिन मदन भण्डारी रंङ्गशालामा जमिन सम्याउने सहित ७ गतेबाट निर्माणको काम सुरु भई सकेको बताउँदै ओदक साथै अन्य क्षेत्रका युवाहरुलाई घर टहरा निमार्ण गर्न जनश्रमदानमा जुट्न समेत आग्रह गरे ।

साथै अध्यक्ष वनेमले पहिरोको उच्च जोखिममा रहेको स्थानीयलाई पशुचौपाया,बालीनाली र बारीको लोभ नगरि अस्थाई रुपमा मात्र प्रयोग गर्न सुझाव दिए । तत्काल अस्थाई रुपमा उच्च जोखिममा रहेका परिवारलाई स्थानान्तरण गर्ने र छिट्टै स्थायी रुपमा एकिकृत वस्ती निर्माण गरेर पालिकाले पहिरो प्रभावितलाई सुरक्षित रुपमा राख्ने योजना अनुरुप काम गर्ने अध्यक्ष वनेमको भनाई रहेको छ ।

साथै उनले सहयोगि संस्थाहरुप्रति धन्यवाद समेत व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्