कोशी प्रदेश विवाद ‘हेर्न नमिल्ने’ मा

काठमाडौं : कोशी प्रदेशमा मुख्यमन्त्री चयन गर्दा असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमा आज (आइतबार) सुनुवाइ हुन सकेन ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासमा आज सुनुवाइका लागि पेशी तोकिएको भए पनि न्यायाधीश रेग्मीले आफूले हेर्न नमिल्ने भन्दै अस्वीकार गरेपछि सुनुवाइ हुन नसकेको हो । उक्त विवादको सुनुवाइ अर्को दिन हुनेछ । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै गत असार २२ गते निर्वतमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । 

उक्त विवादको प्रारम्भिक सुनुवाइ गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले दूरगामी असर पर्नेगरी काम नगर्न र लिखित जवाफ पेस गर्न आदेश गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्