संखुवासभा कारागारमा २ बन्दीको मृत्यु,७ जना नियन्त्रणमा

संखुवासभा — जिल्ला कारागार संखुवासभामा दुई जना कैदीको बुधबार बिहान मृत्यु भएपछि प्रहरीले अनुसन्धानका लागि कैद सजाय भुक्तान गरिरहेका ७ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

ती कैदीबन्दीको नाम भने सार्वजनिक गरिएको छैन । जिल्ला कारागार संखुवासभामा कैदीबन्दीहरूबीच कुटपिट हुँदा दुई जनाको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारका अनुसार बुधबार दिउँसो १ सय ३६ कैदीबीच फेरि झडप भएको थियो । यो कारागार २५ जना क्षमताको हो ।

मृत्यु भएका नुवाकोट ककनी ७ का आकाश वलामी चोरी मुद्दामा सजाय भोगिरहेका थिए । संखुवासभा मादी नगरपालिका ५ का अर्का मृतक विनोद तोलांगी जबर्जस्ती करणीमा मुद्दामा जेल सजाय भोगिरहेका थिए ।

कारागारको शौचालयको झ्याल काटेर भाग्न खोजेपछि उनीहरुलाई प्रहरी र कारागार प्रशासनले बिहान १ बजे नियन्त्रणमा लिएको थियो । नियन्त्रणलगत्तै उनीहरुलाई कारागारमै राखिएको केही बेरमा कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक दुवै जना बिहान ४ बजे अचेत फेला परेका थिए । कारागारमा भएको घटनालाई छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको छ । उक्त घटनापछि जिल्ला कारागार परिसर र बाहिरी क्षेत्रमा प्रहरी निरीक्षक भुवनबाबु खड्काको नेतृत्वमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
कान्तिपुर


प्रतिक्रिया दिनुहोस्