पहिरोले खोटाङका अधिकांश ग्रामीण सडक अवरुद्ध

खोटाङ — लगातारको झरीले विभिन्न ठाउँमा पहिरो जाँदा खोटाङका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । केही दिनदेखिको लगातारको झरीले ठाउँठाउँमा पहिरो र बाढीले सडक भत्काउँदा जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका हुन् ।

दिक्तेल–हुर्लुङ–जालपा–ऐसेलुखर्क, दिक्तेल–हुर्लुङ–जालपा–बाक्सिला, दिक्तेल–खार्मी, दिक्तेल–पाथेका, दिक्तेल–मात्तिम–पञ्चमी, दिक्तेल–रेग्मीटार–रसुवा, दिक्तेल–दिप्रुङ पञ्चमी–रोक्सिङ भन्ज्याङ–खोटाङबजार लगायतका ग्रामीण सडक अवरुद्ध भएको खोटाङ यातायात प्रालिका सचिव राम हिङ्माङले बताए ।

यातायात सञ्चालनका बारेमा सम्बन्धित स्थानीय तहहरुलाई अनुरोध गरिरहेको पनि हिङ्माङले जानकारी दिए । यसबीचमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जालपा र पाथेकामा सडक मर्मत सुरु गरेको छ ।

तर झरी नरोकिएकाले नियमित रुपमा यातायात कहिलेदेखि सञ्चालन हुने भन्ने यकिन नभएको हिङ्माङले बताएका छन् । जिल्लामा हाल साना–ठूला गरी तीन सयभन्दा बढी यात्रुवाहक सवारी सञ्चालित छन् ।

डम्बरसिं राई,कान्तिपुर


प्रतिक्रिया दिनुहोस्