अन्तराष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथनको सर्बोत्कृष्ट उपाधि पाँचथरका बिशाल राईलाई

ताप्लेजुङ । ताप्लेजुङमा शनिवार सम्पन्न अन्तराष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथन प्रतियोगिताको सर्बोत्कृष्ट उपाधि पाँचथरका बिशाल राईले जित्नु भएको छ । उहाँले १ लाख रुपैयाँ पुरस्कार सुरक्षित गर्नु भएको छ ।

राई अघिल्लो साता सम्पन्न करिव ४४ सय मिटरको उचाईमा सम्पन्न तिम्बुङ पोखरी ट्रेल रनका बिजेता पनि हुनुहुन्छ । सुरुआत देखि राई भन्दा अघि रहेपनि दौडको अन्तिम करिव सय मिटर दुरीमा बझाङका करण रावललाई जितेर अघि बढ्नु भएका राई सर्बोत्कृष्ट बन्नुभयो । रावल समग्रमा दोस्रो तथा पुरुषतर्फ पहिलो हुनु भएको छ । उहाँले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नुहुनेछ । फुङलिङ बजारबाट सुरु भई ३ हजार ७९४ मिटर उचाईको पाथीभरा मन्दिरसम्म पुगेर पुनःफुङलिङ बजार फर्कने गरी तय कूल ४८ किलोमिटर दुरीमा म्याराथन भएको थियो । ताप्लेजुङका रमेश लिम्बू समग्रमा तेस्रो तथा पुरुषतर्फ दोस्रो हुनुभयो । उहाँले नगद ३० हजार रुपैयाँ प्राप्त गर्नुहुनेछ । यस्तै सोलुखुम्बुका अर्जुन कुलुङ राई पुरुषतर्फ तेस्रो हुनु भएको छ । उहाँले नगद २० हजार रुपैयाँ प्राप्त गर्नहुने छ । यस्तै ताप्लेजुङ,पाँचथर र इलामका सहभागीमध्ये पहिलो,दोस्रो र तेस्रो हुनेले जनही क्रमशः१५,१० र ५ हजार रुपैयाँ पुरस्कार समेत पाउने छन् ।

महिलाहरु भने अहिले सम्म अन्तिम बिन्दु सम्म आइपुग्नु भएको छैन । रेडपाण्डालाई खेलकुदसंग जोड्ने उद्देश्यसहित हिमाली संरक्षण मञ्चले रेडपाण्डा नेटवर्क,जिल्ला समन्वय समिति,फुङलिङ नगरपालिका,पाथीभरा क्षेत्र विकास समिति सहितका निकायसंग मिलेर रेडपाण्डा ट्रेल म्याराथन प्रतियोगिता आयोजना गरेको हो । विश्व रेडपाण्डा संरक्षण दिवस (२१ सेक्टेम्बर) को अवसर पारेर आयोजित म्याराथनमा ५१ जना सहभागी छन् । म्याराथनमा सहभागिताका लागि एक बिदेशी सहित आबेदन भने ५६ जना दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्