रेडपान्डा ट्रेल म्याराथनमा महिलातर्फ कुमारी गुरुङ प्रथम

ताप्लेजुङ। विश्व रेडपान्डा दिवसको अवसरमा शनिबार ताप्लेजुङमा आयोजित अन्तर्राष्ट्रिय रेडपान्डा ट्रेल म्याराथन (दौड) प्रतियोगितामा महिलातर्फ कुमारी गुरुङ प्रथम हुुनुभएको छ । निर्धारित ४८ किलोमिटर दूरी छ घण्टा १२ मिनेटमा पुरा गर्दै ताप्लेजुङ फुङ्लिङकी गुरुङ प्रथम हुनुभएको हो ।
म्याराथनमा महिलातर्फ नै निर्धारित ४८ किलोमिटर दूरी छ घण्टा २९ मिनेटमा पार गर्दै ओखलढुङ्गाकी लाक्पा निमा शेर्पा द्वितीय हुनुभएको छ । यस्तै ताप्लेजुङकी दासाङ्गी शेर्पा तृतीय हुनुभएको छ । तृतीय बन्न सफल शेर्पाले छ घण्टा ३७ मिनेटमा निर्धारित दूरी पुरा गर्नुभएको छ ।
महिलातर्फ म्याराथनमा प्रथम हुनेले ५० हजार रुपियाँ, दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार रुपियाँ नगद पुरस्कार पाउनुभएको छ । म्याराथनमा म्याराथन प्रतियोगितामा दक्षिण कोरियाकी एक महिला धावकसहित १६ जना सहभागी बन्नुभएको थियो ।
यसैगरी स्थानीय विधातर्फ रेडपान्डा करिडोर क्षेत्रको रुपमा रहेको ताप्लेजुङ, पाँचथर र इलाम जिल्लाका धावकबिच प्रतिस्पर्धा गराइएको छ । उक्त विधातर्फ पाँचथरका राजन मेन्याङ्बो निर्धारित दूरी चार घण्टा ५७ मिनेटमा पूरा गर्दै प्रथम हुनुभएको छ । त्यस्तै सञ्चबहादुर शेर्पाले पाँच घण्टा छ मिनेट र दीपक राईले पाँच घण्टा १९ मिनेटमा दूरी पार गर्दै क्रमशः दोस्रो र तेस्रो हुनुभएको छ ।
म्याराथनको स्थानीय विधातर्फ प्रथमलाई १५ हजार रुपियाँ, दोस्रोलाई १० हजार र तेस्रो हुनेलाई पाँच हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिएको आयोजक हिमाली संरक्षण मञ्च ताप्लेजुङले जनाएको छ । म्याराथनका लागि सदरमुकाम फुङ्लिङदेखि तीनहजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरा धाम पुगेर पुनः फुङ्लिङ आइपुग्नुपर्ने गरी दूरी निर्धारण गरिएको थियो ।
प्रत्येक सेप्टेम्बर २१ तारेखलाई अन्तर्राष्ट्रिय रेडपान्डा दिवसका रुपमा मनाइने गरिएको छ । दिवसको अवसर पारेर विश्वमै दुर्लभ रेडपान्डाको संरक्षणप्रति जनचेतना अभिवृद्धि तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रेडपान्डा म्याराथन प्रतियोगिता आयोजना गरिएको मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्