मैवाखोलाद्धारा मर्मतका लागि पालिका क्षेत्रका १७ वटा सडक छनौट

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले मर्मतसम्भार गर्नेगरी पालिका क्षेत्रका १७ वटा सडक प्राथमिकता गरेको छ ।पालिकाका ६ वटै वडामा रहेका मुख्य र शाखा सडक मर्मतसम्भार गरी यातायात सेवा नियमित गर्न कार्यपालिकाको बैठकबाट १७ वटा सडक छनौट गरिएको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो । उहाँका अनुसार सडकको मर्मतसम्भार यसैसाताट सुरु गर्ने तयारी छ । पहिलो चरणमा पालिकाका प्रत्येक वडा पुग्ने मुख्य सडकक्षेत्रहरु मर्मतसम्भार गरिने छ । ‘सम्भवतःदशैं अघि नै पालिकाका प्रत्येक वडा पुग्ने मुख्य सडकक्षेत्रहरु मर्मतसम्भार सक्ने गरी योजना बनाएका छौं’गाउँपालिका अध्यक्ष वनेमले भन्नुभयो । उहाँले त्यसका लागि पालिकाका प्राविधिकहरुमार्फत प्राविधिक अध्ययन सुरु भएको समेत बताउनुभयो ।

पहिरो तथा बाढी सहितका विपद्का कारण मर्मतसम्भार नगरी नहुने सडकहरु छनौट गरी मर्मतसम्भारको तयारी गरिएको पालिकाले जनाएको छ । मैवाखोला प्राकृतिक विपद्बाट प्रभावित क्षेत्र हो । अघिल्लो बर्षको विपद्का कारण मैवाखोलाको ओदक र ताम्राङ क्षेत्रका ६५ घर परिवार बस्नै नसक्ने अवस्थामा रहेपछि पालिकाले उनीहरुलाई अस्थायी एकीकृत बस्तिमा स्थानान्तरण गरेको छ ।

नेरुवाखोलामा आएको पहिरो र बाढीले सडकनै बगाएपछि पालिकाको केन्द्र समेत रहेको वडा नं ३ बाट वडा नं ४ हुँदै सवारीसाधनमार्फत वडा नं ५ र ६ जान सकिने अवस्था छैन । यस्तै वडा नं २ बाट नेरुवाखोला तरेर खार्ते हुँदै वडा नं ६ तर्फ जान समेत नेरुवाखोला माथिको झोलुङ्गेपुल बाहेक चारपाङ्ग्रे सवारी जान सक्ने अवस्था छैन । त्यहाँको अस्थायी पुल समेत बगाएकोले समस्या भएको छ । यसबाहेक पालिका क्षेत्रका बिभिन्न सडकहरु मर्मत नगरी सवारी साधनको नियमित ओहोरदोहर गर्न समस्या भएपछि पालिकाले सवारी साधनको नियमित ओहोरदोहरका लागि मर्मतसमभार गर्नुपर्ने सडकको प्राथमिकीकरण गरेको पालिका अध्यक्ष वनेमले जानकारी दिनुभयो ।
फोटो ः अघिल्लो बर्षको पहिरोबाट भत्किएको वडा नं ३ हुँदै वडा नं ४ ताम्राङतर्फ जाने नेरुवाखोला छेउ नजिक सडक सुचारुका लागि प्राविधिक अध्ययन हुँदै ।


प्रतिक्रिया दिनुहोस्