डिआस कनेललाई क्युवाको राष्ट्रपति बन्ने पक्का

हवाना, क्युवा / क्यास्ट्रो परिवारको लामो समयदेखिको राजनीतिक नेतृत्वलाई अन्त्य गर्ने प्रत्याभुति गराउँदै क्युबाली संसदले वर्तमान राष्ट्रपति राउल क्यास्ट्रोको नजिकका सहयोगी मिगेल डिआसकनेललाई उहाँको उत्तराधिकारी हुने एक मात्र उम्मेदवारका रूपमा बिहीबार चयन गरेको छ । यससँगै क्युवाको राजनीतिमा विगत ६० वर्षदेखि प्रभावशाली नेतृत्व प्रदान गर्दै आएको क्यास्ट्रो परिवारको सत्तामा औपचारिक नियन्त्रण हट्ने भएको छ । उहाँको जन्म सन् १९६० को अप्रिलमा भएको थियो । उहाँ जन्मेकै समयदेखि क्युवामा क्यास्ट्रो परिवारको नेतृत्व कायम भएको थियो । सरकारको नेतृत्व लामो समयदेखि क्याष्ट्रोको निकट सहयोगी रहँदै आउनुभएका ५७ बर्षीय डिआसकनेलले सन् २०१३ पछि उपराष्ट्रपतिका रूपमा जिम्मेवारी पाउनुभएको थियो ।


राउल क्यास्ट्रोले उहाँका दाजु तथा क्युवाली क्रान्तिका नायक फिडेल क्यास्ट्रो विरामी परेपछि सन् २००६ मा राष्ट्रपतिको कार्यबाहक राष्ट्रपति र त्यसको करिब तीन बर्षपछि राष्ट्रपतिका रूपमा जिम्मेवारी सम्हाल्नुभएको थियो । क्युबाको राष्ट्रिय सभाले डिआसकनेलको उम्मेदवारीको पक्षमा मतदान बुधबार नै गरेका भएपनि नतिजा यो समाचार तयार पार्दासम्म नतिजा सार्वजनिक भइसकेको छैन । यद्यपि नतिजा बिहीवार नै सार्वजनिक हुनेछ र क्यास्ट्रोले औपचारिक रूपमा डिआसकनेललाई राष्ट्रपतिको जिम्मेवारी हस्तान्तरण गर्ने अपेक्षा गरिएको छ ।

राष्ट्रपतिको रूपमा नेतृत्व नगरेपनि राहुल क्यास्ट्रोले क्युवाको सत्तारूढ कम्युनिष्ट पार्टीको नेतृत्व अर्को महाधिवेशन नहुँदासम्म अर्थात् सन् २०२१ सम्मका लागि हस्तान्तरण गर्ने सम्भावना भने देखिएको छैन । संयुक्त राज्य अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा तत्कालीन राष्ट्रपति बराक ओबामाको कार्यकालदेखि अमेरिकाक्युबा सम्बन्धमा केही सुधार आएको थियो तर राष्ट्रपति डोनल्ड ट्रम्पको आगमनसँगै उहाँको क्युवालाई हेर्ने नीतिका कारण सम्बन्धमा पुनः समस्या देखिएको थियो ।

इलेक्ट्रिकल इञ्जिनियरिङ पढेका डिआसकनेलले २० वर्षको उमेरमा यङ कम्युनिष्ट लिगको एक सदस्यका रूपमा राजनीति शुरू गरेपनि सन् २०१३ मा उपराष्ट्रपति निर्वाचित हुँदासम्म खासै चर्चामा रहनुभएको थिएन । उहाँलाई थोरै बोल्ने कुशल कूटनीतिज्ञका रूपमा हेरिन्छ । वर्तमान राष्ट्रपति राउल क्यास्ट्रोले डिआसकनेललाई ’सिद्धान्तप्रति निष्ठावान व्यक्तिका रूपमा प्रशंसा गर्ने गरेको पाइन्छ । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस्