माल्दिभ्समा सावित्रालाई व्यक्तिगत सात अवार्ड

काठमाडौं  /  नेपाली महिला फुटबल खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेत व्यावसायिक खेलका लागि एक महिना अघि माल्दिभ्स पुगेका थिए । माल्दिभ्स १८ र ३० महिला फुटसल फिस्टामा त्यहाँको पुलिस क्लबलाई च्याम्पियन बनाउने लक्ष्यका साथ त्यहाँ पुगेका थिए । तर, लक्ष्यबाट उनी थोरै चुके ।

                              फाइल तस्विर

उनीहरु सम्मिलित टोली उपाधिबाट विमुख हुन पुग्यो । फाइनलमा पुलिस एमपिएलसँग ३–२ ले पराजित भएको थियो । नियमित समयमा १–१ को बराबरीपछि टाइब्रेकरमा पुलिस पराजित भएको थियो । तर, टोलीलाई फाइनल सम्म पुुर्याउनमा सबैभन्दा मुख्य भूमिका सावित्रा र अनिताकै रह्यो ।

अन्तिम खेलमा टोलीलाई जित दिलाउन नसेपनि फाइनल सम्म पुर्याउन उनीहरुको त्यसमध्ये पनि सावित्राको भूमिका कति रह्यो भन्ने उनले प्राप्त गरेको व्यक्तिगत अवार्डबाट पनि प्रष्ट हुन्छ । उपविजेताको उपाधि बाहेक सावित्राले प्रतियोगितामा व्यक्तिगत अवार्ड ७ वटा जितेकी छिन् । ४ खेलमा क्विन अफ दी म्याच बनेकी सावित्रा क्विन अफ दी टुर्नामेन्ट समेत बनेकी छन् ।

त्यस्तै प्रतियोगिताकै उच्च गोलकर्ता बनेकी उनी प्रतियोगिताका उत्कृष्ट पाँच खेलाडीमा पनि पर्न सफल भइन् । प्रतियोगितामा सावित्राले फाइनलबाहेक सबैमा गोल गरिन् । उनले १९ गोल गरिन् भने फाइनलमा १ गोल गरेकी अनिताको नाममा ९ गोल रह्यो ।

माल्दिभ्समा सावित्रा र अनिताको यो दोस्रो सिजन हो । गत सिजन उनीहरुले माल्दिभ्स एयरपोर्ट कम्पनीबाट खेलेका थिए । दक्षिण एसियाकी उत्कृष्ट स्ट्राइकर मध्येकी एक सावित्रा गत वर्ष पनि सोही प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्