बन्द अन्तर्राष्ट्रिय उडान आज मध्याह्नबाट शुरु

काठमाडौँ / मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमै धसिएर बन्द भएको अन्तर्राष्ट्रिय उडान आज मध्याह्नबाट चालु भएको छ । हिजो राति दुर्घटनामा परेको जहाजलाई तानेर त्यहाँबाट हटाएपछि अन्तर्राष्ट्रिय उडान सञ्चालन भएको विमानस्थलका महाप्रबन्धक सञ्जिव गौतमले जानकारी दिनुभयो । विमान दुर्घटना भएको १४ घण्टा पछि पुनः अन्तराष्ट्रिय उडान शुरु भएको हो ।

बिहीबार राति मलेशियाका लागि उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमै धसिएको मालिन्दो एयरको जहाज धावन मार्गबाट तानेर हटाइँदै । जहाजलाई धावन मार्गबाट तानेर हटाइएपछि बन्द भएको अन्तर्राष्ट्रिय उडान शुक्रबार मध्याह्नपछि खुलेको छ । तस्वीर: प्रदीपराज वन्त

मालिन्दो एयरको जहाज मलेसिया उडान भर्ने क्रममा बिहीबार राति १० बजेर ७ मिनेटमा धावनमार्गबाट अनियन्त्रित भएर करिव ४० मिटरसम्म कोटेश्वरखण्डको घाँसे मैदानमा पुगेकाले सबै अन्तर्राष्ट्रिय उडान बन्द भएको थियो । अन्तर्राट्रिय उडान शुरु भएसँगै पहिलो प्राथमिकता हिजो राति अन्यत्र मोडिएका विमानलाई अवतरण गराइने विमानस्थलले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्