मेलम्चीको पानी वितरण गर्न ६८४ किमी सडकमा पाइप

काठमाडौँ / मेलम्चीको पानी वितरणका लागि उपत्यकाको ६८४ किमी सडकमा पाइप बिच्छ्याइएको छ । पहिलो चरणमा ७२० किमी सडकमा पाइप बिच्छ््याउने कार्यक्रम रहेकोमा अहिलेसम्म ६८४ किमी सडकमा पाइप बिच्छ््याइएको छ । डेढ महिनामा ७२० किमीमै पाइप बिच्छ्याइने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।


यसैगरी थोक वितरण प्रणालीको ७७ किमीमध्ये ६९ किमीमा पाइप बिच्छ््याइएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो । असार मसान्तसम्म पहिलो चरणको पाइप बिच्छ्याउने काम सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो । पाइप ओच्छ्याइ सकिएका सडकमा कालोपत्रको काम पनि भइरहेको छ । आठ मिटर कम चौडाइका सडकमा निर्देशनालयले नै कालोपत्र गर्दैछ । आठ मिटरमाथिका सडकमा सडक डिभिजन कार्यालयले कालोपत्र गर्ने सडक विभागका प्रवक्ता मुक्ति गौतमले बताउनुभयो ।

सडकका मुख्य चोकमा भल्भ च्याम्बर निर्माण भइरहेकाले कालोपत्र भएका सडकमा जेब्रा क्रसिङ बनाउन नसकिएको निर्देशनालयले जनाएको छ । असार मसान्तसम्म निर्माणसँगै पैदलयात्रुका लागि जेब्रा क्रसिङ पनि बनिसक्नेछ ।


प्रतिक्रिया दिनुहोस्