‘पार्टीको नेतृत्व संयुक्त, सरकारको पालैपालो’: एमाले-माओवादी सहमति

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको खाका तयार भएको एकजना नेताले जनाएका छन्।

माओवादी केन्द्रका नेता जनार्दन शर्माले सोमबार साँझ पार्टी एकता संयोजन समितिको बैठकले उक्त खाका पारित गर्ने बीबीसीलाई बताए।

उनका अनुसार दुई दलका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले पार्टी एकता गर्ने सहमति गरेका हुन्।

‘प्रधानमन्त्री वा अध्यक्ष नपाए एकता असम्भव’

‘एकीकृत पार्टीमा सामूहिक नेतृत्व’

लिखित नहुने?

एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी हुनेछ।

नेता शर्माले केपी शर्मा ओली र प्रचण्ड दुबैजना अध्यक्षको हैसियतमा रहने र पालैपालो बैठकको अध्यक्षता गर्ने जानकारी दिए।

उनको भनाइमा सरकारको नेतृत्व पनि पालैपालो गर्ने सहमति भएको प्रष्ट बुझिन्छ।

तर त्यसबारे लिखित सहमति हुने-नहुने उनले खुलाएनन्।

नेता शर्माको भनाइ छ, “अहिले केपी ओलीले नै नेतृत्व गरिरहनु भएको छ। एउटै पार्टी भइसकेपछि निर्णय अनुसार अघि बढ्ने भएकाले भोली आवश्यक पर्‍यो भने समझदारीमा आलोपालो हुन्छ।”

ओली निकट नेताहरु भने सरकारको नेतृत्व आलोपालो गर्ने विषयको विपक्षमा देखिने गरेका छन्।

नयाँ बिचार

दुबै दलले अंगाल्दै आएका सैद्धान्तिक र बैचारिक विषयमा एकता महाधिवेशनसम्म छलफल गर्ने सहमति भएको उनले बताए।

खासगरी एमालेले मार्गदर्शक सिद्धान्तको रुपमा अंगालेको जनताको बहुदलीय जनवाद छाड्न नसकिने अडान लिएपछि एकता प्रक्रिया अवरुद्ध भएको बताइएको थियो।

एमालेले माओवाद मान्न अस्वीकार गर्दै आएको छ।

माओवादी नेता शर्माले भने, “माओवादले नेपाली क्रान्ति र परिवर्तनमा गरेको योगदान तथा बहुदलीय जनवादले खेलेको भूमिकाबारे छलफल गर्दै निश्कर्षमा पुग्ने र नयाँ ढंगले विकसित गर्ने सहमति भएको छ।”

पार्टी संरचना र अन्य प्रमुख पदको बाँडफाँटबारे सहमति हुन बाँकी छ।

कार्यदल बनाएर त्यसलाई टुंङग्याइने बताइएको छ।

सम्बन्धित सामग्री


प्रतिक्रिया दिनुहोस्