बार्सिलोनाको ३० औं कोपा डेल रे उपाधि

बार्सिलोना /  स्पेनिस कोपा डेल रेको फाइनलमा सेभियालाई ५-0 को फराकिलो अन्तरले हराउँदै बार्सिलोनाले लगातार चौथो पटक प्रतियोगिताको उपाधि हात पारेको छ । समग्रमा ३0 औं पटक उपाधि हात पर्ने क्रममा बार्सिलोनाले उत्कृष्ट खेल प्रदर्शन गर्यो ।


राउण्ड अफ ३२ चरणमा बार्सिलोनाले मुर्सियालाई ८-० ले पराजित गर्दै अगाडी बढेको थियो । अवे लेगमा ३-0 को जित हात पारेको बार्सिलोनाले दोस्रो लेग सहजै ५-0 ले जित्यो । प्रि(क्वाटरफाइनलको पहिलो लेगमा भने सेलता भिगोले १-१ को बराबरीमा रोक्यो । तर, घरेलु मैदानको उच्च फर्मलाई जारी राख्दै बार्सिलोना ५-0 ले विजयी रहयो र समग्रमा ६-१ को जित दर्ता गर्यो ।

क्वाटरफाइनलमा बार्सिलोना एस्पान्योलको घरेलु मैदानमा १-0 ले पराजित भयो । दोस्रो लेगमा जितको विकल्प नरहेको बार्सिलोनाले घरेलु मैदानमा २-० को जित सहित समग्रमा २-१ ले अगाडी रहयो । सेमिफाइनलको पहिलो लेगमा भ्यालेन्सियाविरुद्ध घरेलु लेगमा १(० ले विजयी बार्सिलोना अवे लेगमा २(० को जित दर्ता गर्दै समग्रमा ३-0 को अग्रतासँगै फाइनल पुगेको थियो ।
फाइनलमा बार्सिलोनाका लागि लुइस सुआरेजले २ तथा लिओनेल मेस्सी, आन्द्रेस इनिएस्टा र फिलिपे कोउटिन्होले १-१ गोल गरे । पहिलो हाफमै ३-0 को अग्रता बनाएको बार्सिलोनाले सहजै उपाधि आफ्नो पक्षमा पारेको थियो । खेलको म्यान अफ द म्याच इनिएस्टा भए ।


प्रतियोगिता दौरान मुर्सियाका भिक्टर कर्टो ६ गोलसहित सर्वाधिक गोलकर्ताको सुचिमा शीर्षस्थानमा रहे । दोस्रो स्थानमा ५-५ गोल गरेका सेभियाका जोआकिन कोर्रिया र बार्सिलोनाको लुइस सुआरेज अटाए । ४-४ गोल गरेका बार्सिलोनाको लिओनेल मेस्सी र अलाभेसका मुनिर अल हद्दादी त्यसपछि सुचिमा अटाए ।


यस उपाधिसँगै बार्सिलोनाले ३0 पटक कोपा डेल रेको उपाधि आफ्नो पोल्टामा पारेको छ । १० पटक उपविजेतामा सिमित बार्सिलोना सर्वाधिक कोपा डेल रे उपाधि जित्ने सुचिमा शीर्षस्थानमा छ । दोस्रो स्थानमा २३ पटक उपाधि जितेको एथ्लेटिक बिल्बाओ छ भने तेस्रोमा १९ पटक जितेको रियल म्याड्रिड छ । रियल प्रतियोगितामा २० पटक उपविजेता भएको छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्