मलेसियास्थित हमासका वैज्ञानिकलाई आफूले हत्या नगरेको इजरायली रक्षामन्त्रीको दावी

जेरूसेलम, /  प्यालेष्टिनी हमास समूहले दावी गरे अनुसार इजरायलको एक जासुसी निकायले प्यालेष्टिनी वैज्ञानिकको मलेसियामा हत्या गरेको भन्ने भनाइमा कुनै सत्यता नभएको इजरायली रक्षामन्त्री अभिगडोर लिबरम्यानले आइतबार बताउनुभएको छ । हमास समर्थक एक प्यालेष्टिनी इन्जिनियर तथा प्राध्यापक फादी मोहम्मद अल–बातसलाई मोटरसाइकलमा आएका अज्ञात बन्दूकधारीले शनिबार क्वालालम्पुरमा गोली हानी हत्या गरेको मलेसियाको प्रहरीले बताएको छ ।

गाजा क्षेत्रमा सक्रिय प्यालेष्टिनी इश्लामिक संगठन हमासले अल–बातसलाई आफ्नो सदस्यका रूपमा दावी गर्दै उहाँको हत्यामा इजरायलको हात रहेको हमास नेता इश्माइल हनियले दावी गर्नुभएको छ ।इजरायली जासुसी निकाय मोसादले प्यालेष्टिनी इन्जिनियर बातसलाई विगतमा पनि हत्या गर्ने प्रयास गरेको दावी हमासको छ ।तर लिबरम्यानले बातसलाई प्यालेष्टिनीहरूबीचको आन्तरिक कलहका कारण मारिएको हुनसक्ने बताउनुभएको छ ।लिबरम्यानले इजरायली रेडियोसँगको संवादमा भन्नुभयो, “हामीले समाचारमा बातसको मृत्युभो खबर सुन्यौ प्यालेष्टिनी आतङ्कवादी संगठनले हरेक हत्यामा इजरायलमाथि दोष लगाउने गर्छ । यस खालका आरोप सहन हामी बानी परिसकेका छौँ ।”

मलेसियाली उपप्रधानमन्त्री अहमद जहिद हमिदीले शनिबार सञ्चारकर्मीलाई हत्याबारेमा बताउँदै भन्नुभयो, “इलेक्ट्रिकल इन्जिनियर रकेट विज्ञ अल–बातसको गोली हानी हत्या भएको छ ।”उहाँले थप्नुभयो, “ अल–बातसको हत्यामा कुनै विदेशी गुप्तचर निकायको सम्लग्नता रहेको वा प्यालेष्टिनीप्रति शत्रुता राख्ने कुनै समूहको सम्लग्नता रहेको हुनसक्ने भन्दै यसमा इन्टरपोलको सहयोग लिई मलेसियाको प्रहरीले अनुसन्धानलाई अघि बढाउने छ ।”मलेसियाको प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस्