पहिरोले घरबार बिहीन भएकालाई जग्गा प्रदान

-प्रयास लिम्बू

ताप्लेजुङ, १० बैशाख / ताप्लेजुङमा पहिरोले घरबार बिहीन बनेका बाह्र परिवारलाई जग्गा प्रदान गरिएको छ । विगत २०५९ सालमा गएको पहिरोका कारण घरबार बिहीन बन्न पुगेका फुङ्लिङ नगरपालिका र फक्ताङ्लुङ गाउँपालिकाका पीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाले जग्गा उपलब्ध गराएको हो ।

नेपाल रेडक्रस सोसाइटी शाखाका पूर्व सभापति गणेश अधिकारीका अनुसार फुङ्लिङ नगरपालिका वडा नं. ९ हाङ्देवाका सात परिवारलाई आइतबार जग्गासहित सम्बन्धित व्यक्तिको नाममा लालपुर्जा उपलब्ध गराइएको छ । फक्ताङ्लुङ गाउँपालिका वडा नं. ३ लिङ्खिमका पाँच परिवारलाई भने रेडक्रसले यसअघि नै लालपुर्जा उपलब्ध गराएको पूर्वसभापति अधिकारीले जानकारी दिनुभयो ।

पहिरो पीडितलाई लालपुर्जा प्रदान गर्नुहुँदै फुङ्लिङ नगर–प्रमुख छत्रपति प्याकुरेल । तस्बिर – प्रयास ।

अधिकारीका अनुसार जग्गा पाउनेमा हाङ्देवाका भीमबहादुर लिम्बू, नरबहादुर लिम्बू, धनबहादुर लिम्बू, मनसिरी लिम्बू, बीरबहादुर लिम्बू, लीलाबहादुर निरौला र केशरबहादुर विश्वकर्मा रहनुभएको छ । रेडक्रसको नाममा रहेको चार रोपनी क्षेत्रफल बराबरको जग्गा सात परिवारलाई आ–आफ्नो नाममा रजिष्ट्रशन पास गरी लालपुर्जा उपलब्ध गराएको आधिकारीले बताउनुभयो । तत्कालिन रेडक्रसका सभापति टीकाराम गौतमको जन्मदिन पारेर आइतबार टीकाराम गौतम स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रमकाबीच फुङ्लिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलले पहिरो पीडितलाई लालपुर्जा प्रदान गर्नुभयो ।
यस्तै पहिरोले घरबार बिहीन भएका लिङ्खिमका सञ्जबहादुर लिम्बू, आइतबहादुर लिम्बू, बुधबहादुर लिम्बू, धनबहादुर लिम्बू र सानबहादुर लिम्बूको परिवारलाई रेडक्रस शाखाले पहिले नै जग्गा उपलब्ध गराएको थियो । केही दाताले उपलब्ध गराएको र रेडक्रससँग भएको दुई रोपनी १५ आना क्षेत्रफल बराबरको जग्गा पाँच परिवारलाई भने २०७१ सालमै आ–आफ्नो नाममा पास गरी प्रदान गरेको रेडक्रस शाखाले जानकारी दिएको छ । जग्गा उपलब्ध गराइएका १२ परिवारलाई यसअघि घर समेत निर्माण गरी दिएको रेडक्रस शाखाले जनाएको छ । रेडक्रस शाखाको तथ्याङ्क अनुसार आजभन्दा १५ वर्षअघि अर्थात २०५९ साल साउन २२ गते भीषण वर्षासगै पहिरो जाँदा साविक हाङ्देवा, फुरुम्बो, लिङ्लिम र सावादिन गाविसमा ठूलो जनधनको क्षति भएको थियो । त्यसबेलाको पहिरोमा परी साविक चारवटै गाविसमा गरी २३ जनाको मृत्यु भएको थियो भने धेरै पशुचौपाया बगाएको थियो । त्यस्तै हजारौं रोपनी क्षेत्रफल बराबरको खेतीयोग्य जमिन बगाएको थियो ।


पहिरोले तत्कालिन अवस्थामा तीन सय परिवार बढी विस्थापित भएका र पछि बिस्तारै उनीहरु पुनःस्थापित भएका थिए । करिव ४२ परिवार भने पूर्ण रुपमा विस्थापित भएका रेडक्रसको तथ्याङ्क रहेको छ । दुई पटक गरी जग्गा उपलब्ध गराइएका १२ परिवार बाहेक पहिरोका अन्य विस्थापित ३० परिवारलाई जस्तापाता लगायत सामग्री उपलब्ध गराएर घर बनाउनमा रेडक्रसले सहयोग गरेको थियो । पहिरो गएपछि प्रभावित भएका करिव डेढ सय परिवारलाई त्यसबेला तीन महिनासम्म रेडक्रस शाखाले खानेबस्नेको व्यवस्था समेत गरेको शाखाका पूर्वसभापति अधिकारीले जानकारी दिनुभयो ।

यसरी विगतदेखि नै बाढी पहिरोले ताप्लेजुङमा ठूलो जनधनको क्षति पु¥याउँदै आएको छ । हरेक वर्षजस्तो पहिरोले जनधनको क्षति गर्दै आएकोमा करिव तीन वर्ष अघि अर्थात २०७२ सालमा पनि पहिरोले ठूलो मानवीय क्षति पु¥याएको छ । उक्त साल जेठ २७ गते भीषण वर्षापछि पहिरो जाँदा जिल्लाको पश्चिमी साविक थिङ्लाबु, लिबाङ, खोक्लिङ, लिङ्तेप सान्थाक्रा गाविसमा ५९ जनाको मृत्यु भएको थियो । पहिरोले मानवीय क्षतिसँगै पशुचौपाया, जग्गा, जमिन, अलैँचीबारी बगाएर ठूलो धनसम्पत्तिमा समेत क्षति पु¥याएको थियो भने पहिरोका कारण सयौं परिवार विस्थापित भएका छन् । पहिरोका कतिपय विस्थापितहरु अहिलेसम्म पनि पुनःस्थापित हुन नसकी कष्टमय जीवन बिताउँदै आएका छन् । बस्ने घर र खेती कमाई लगाउने जमिन पहिरोले बगाएपछि पीडितहरु हाल कष्टपूर्ण दैनिकी गुजार्दै आएको बताइएको छ । उनीहरुलाई यतिबेला पुनःस्थापित हुनका लागि घर तथा जग्गाको खाँचो रहेको छ ।

 


प्रतिक्रिया दिनुहोस्