सेकेर विरामीको उपचार गर्ने पद्धतिको सुरुवात

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, १० बैशाख / जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङले हाड सम्बन्धी बिरामीहरुको लागि सेकेर उपचार गर्ने पद्धति सुरु गरेको छ । फुङ्लिङ नगरपालिकाको आर्थिक सहयोगमा हप्ताको दुई दिन आइतबार र बुधबार निःशुल्क सेवा प्रदान गर्नेगरी तीन महिने कार्यक्रम सुरु गरिएको हो ।


जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख योगकुमार महतोका अनुसार विषेशगरी वाथ, ठोक्किएको र प्यारालाइसिसका बिरामीलाई लक्षित गरी कार्यक्रम सुरु गरिएको हो । पानीमा विभिन्न जडिबुटीबाट बनाइएको धुलो लगाई त्यसको बाफ दुखेको ठाउँमा लगाएर सेकी उपचार गरिने महतोको भनाइ छ ।
उक्त उपचार सेवाको जिल्ला समन्वय समिति प्रमुख धनेन्द्र मादेन र फुङ्लिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलले सोमबार उद्घाटन गर्नुभएको छ । पहिलो दिन सोमबार ७२ जनालाई सेवा प्रदान गरिएको कार्यालयले जनाएको छ । कार्यक्रममा समन्वय समिति प्रमुख मादेनले नगरपालिका र आयुर्वेद स्वास्थ्य केन्द्रको कार्यले राम्रो कामको सुरुवात गरेको बताउनुभयो । नगर प्रमुख प्याकुरेलले यो कार्यक्रम प्रभावकारी भएमा अझै योजना थप गर्ने वचन दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्