होमस्टेले फेरिदियो हात्तीबाङका रामजी पुरीको जीवन

हात्तीबाङ, ११ बैशाख । हात्तीबाङका रामजी पुरी घरपरिवारलाई सुखमा राखौँला आर्थिक समस्याबाट मुक्त हौँला भनी ठूलो सपना बोकेर ९ बर्ष अघि विदेसिए । उनले २२ महिना बैदेशिक रोजगारमा रहदाँ बल्ल तल्ल आफू विदेश जाँदा लागेको ऋण तिरे । कमाई हुने छाँटकाट नदेखेपछि उनि २२ महिनामै नेपाल फर्किए । २२ महिनाको बसाइ उनका लागि उपलब्धिमूलक भएन । उनी रित्तो हात नेपाल फर्किए ।

नेपाल फर्कीएपछि उनले हात्तीबाङमा विस्तारै पर्यटकीय स्थल बन्दै गएकोले होमस्टे संचालन गर्ने सोच बनाए । उनले जव होमस्टे संचालन गर्न सुरु गरे उनको आर्थिक अवस्था फेरियो । अहिले उनले हात्तीबाङ र शक्तिखोरमा केही कठ्ठा जग्गा समेत जोडेका छन् । अहिले पहिला जस्तो त्यति आर्थिक समस्याले पिरोलेको छैन । उनले खर्च कटाएर केही रकम समेत बचत गर्न भ्याएका छन् ।

उनको मात्र होइन अहिले अन्य ८ ओटा घरमा होमस्टेहरु छन् । अहिले ८ ओटा होमस्टे र होटलमा गरि उनिहरुले एक पटकमा १५० जना सम्म पाहुनालाई खान बस्नको राम्रो सेवा दिन सक्छन् । उनले भने “हामी अहिले १५० जना सम्मलाई राम्रो खान र बस्न व्यवस्था गर्न सक्छौँ, अहिले यहाँ ८ ओटा होमस्टे मात्र संचालनमा छन् । ”

अहिले सम्म कति पर्यटक होमस्टेमा आए भनी उनिहरुले रेकर्ड भने राखेका छैनन् । उनले भने, सुरुका बर्षहरुमा रेकर्ड राखिन्थ्यो केही बर्ष यता भने रेकर्ड राखेका छैनन् ।

उनिहरुले होमस्टे संचालनका लागि तालिम समेत पाएका छन् । जिल्ला विकास समिति चितवनले पर्यटन विकास समितिसँग समन्वय गरेर उनीहरुलाई तालिम दिएका थिए ।तालिमका लागि पहल पनि उनले नै गरेका हुन् ।

किन आउँछन् पर्यटक हात्तीबाङ ?

हात्तीबाङ चितवनको इच्छाकामना गाउँपालिका वडा नं १ साविकको काउलेमा रहेको एउटा गिरि पुरी समुदायको बाहुल्यता भएको रमणीय गाउँ हो । जहाँ मगर र चेपाङ समुदायको पनि बसोबास छ । होमस्टेमा गिरी,पुरी र चेपाङको संस्कृतिले पाहुनाहरुलाई मनोरञ्जन दिन्छन् । जहाँ सिजनमा चेपाङको खानाको रुपमा परिचित गिठ्ठा, भ्याकुर, सिस्नो, ढिँडो र गिरि पुरीहरुको परम्परागत परिकार खुवाईन्छ ।

हात्तीबाङ सम्म धादिङ बेनीघाट रोराङ गाउँपालिका १० हुग्दिखोला र चितवनको कालिका नगरपालिका स्थित शक्तिखोरबाट चितवनको पुरानो सदरमुकाम उपरदाङगढी हुदैँ सवारी साधनमा जान सकिन्छ । यहाँका होमस्टेमा पर्यटकहरु बस्नको मुख्य कारण चाहीँ सिराईचुली हो । हात्तीवाङमा बास बसेर विहान ३ बज उठेर सूर्योदय हेर्न दुई घण्टा पैदल हिडेर सिराइचुली जाने गरिन्छ । पाहुना पर्यटकलाई गाइडको व्यावस्था गरिन्छ ।

किन आउँछन् पर्यटक सिराईचुली ?

समुन्द्र सतहबाट १ हजार ९ सय ४६ मिटर उचाईमा रहेको सिराईचुली चितवनकै सवैभन्दा अग्लो उचाईमा छ । यहाँबाट विहान सुर्यदयको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । साथै सिराईचुलीबाट धौलागिरी अन्नपूर्ण, माछापुच्छ्रे, लाङ्टाङ, गणेश मनास्लु गौरीशंकर लगायतका हिम श्रंखलाहरु सजिलै देख्न सकिने गाइडको काम गर्दै आएका तिलक पुरीले बताए । तराईको फाँट, महाभारतको रेन्चको अवलोकन गर्न पाइन्छ ।

सिजनमा लाली गुँरासले ढकमक्क भरिएको जंगल टाढा–टाढा सम्मको रमणीय दृष्य र विविध प्रकारका चराचुरुङगी देख्न पाइन्छ ।
सिराइचुलीमा बाह्य र आन्तरिक दुबै पर्यटकहरु आउने गर्दछन् । अक्टुबर देखि डिसेम्बर सम्मको सिराईचुली यात्राका लागि राम्रो सिजन भएको पुरीले बताए ।


प्रतिक्रिया दिनुहोस्