पर्यटकीय जिल्ला घोषणा गर्न माग

ताप्लेजुङ संवाददाता

ताप्लेजुङ / नेकपा (माओवादी केन्द्र) ताप्लेजुङले जिल्लालाई पर्यटकीय जिल्ला घोषणा गर्न माग गरेको छ । थुप्रै पर्यटकीय स्थलहरुसहित प्रशस्त सम्भावना भएर पनि पर्यटनको विकास हुन नसकेको ताप्लेजुङलाई पर्यटकीय जिल्लाको रुपमा घोषणा गर्न माओवादी केन्द्रले सङ्घीय तथा प्रदेश सरकारसमक्ष माग गरेको हो । माओवादी केन्द्रको हालै सम्पन्न जिल्ला कमिटीको पूर्ण बैठकले प्राथमिकताका साथ पर्यटकीय जिल्ला घोषणा गर्न माग गर्ने लगायतका निर्णयहरु गरेको इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग) ले जानकारी दिनुभयो ।

जिल्ला इन्चार्ज बढाक्षेत्रीका अनुसार विश्वको तेस्रो हिमाल कञ्चनजङ्घासहित प्राकृतिक रुपमा विविधतापूर्ण सौन्दर्य, धार्मिक तथा सामाजिक हिसाबले समेत थुप्रै पूर्वाधारले भरिपूर्ण जिल्ला भएकाले पर्यटकीय जिल्ला घोषणा गर्न माग गरिएको हो । पर्यटकीय जिल्ला घोषणा गर्नुपर्ने मागसँगै जिल्लाको पर्यटन विकासका लागि सडक, मोटरेबल पुल, पदमार्ग, लगायत योजना निर्माणलाई विशेष जोड दिइएको छ भने विद्युत, खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगार आदिको प्रवद्र्धन साथै व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको छ । सडकअन्तर्गत तमोर करिडोरको लिम्बुनी पुलदेखि काबेली हुँदै सिनाम पञ्चमी, तावा दोभान, पेदाङ, याम्फुदिन, कञ्चनजङ्घा नयाँ पर्यटकीय मोटरबाटो काबेली करिडोरका रुपमा निर्माण गरिनुपर्ने र यस मार्गले सीधै प्रदेश राजधानी र कञ्चनजङ्घा हिमाल लगायत पर्यटकीय क्षेत्रसँग सम्बन्ध राख्ने छ ।

यस्तै पाथीभरा याङ्वरक, सिदिङ्बा, सिरिजङ्घा, फक्ताङ्लुङ, मिक्वाखोला, मेरिङ्देन, मैवाखोला र आठराई त्रिबेणी गाउँपालिकाको मुकामलाई जोड्नेगरी (चक्रपथ) सडक निर्माण गर्नुपर्ने प्रस्ताव गरिएको छ । यस चक्रीय सडक सञ्जालले सबै स्थानीय तहको आवतजावत, बजारीकरण र अन्तरगाउँपालिकाको सम्बन्ध सुदृढ गर्ने साथै थप विकसित हुने जनाइएको छ । त्यस्तै हाल निर्माणाधीन तमोर करिडोरलाई ओलाङ्चुङगोला हुँदै चीनसँगको सिमाना टिपतालासम्म जोडेर सडकको स्तरोन्नति गर्न बजेट व्यवस्था गर्नुपर्ने, खाम्लुङ दोभान–बहानन्दे सडक कालोपत्रे गर्न, सदरमुकाम फुङ्लिङ हुँदै सुकेटार–फावाखोला–सिकैँचा सडक कालोपत्रे गर्न, सुकेटार–ओलाङ्चुङगोला सडक (उत्तरदक्षिण लोकमार्ग) को तापेथोकसम्म कालोपत्रे गर्न बजेट व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।

मोटरबाटो निर्माणका क्रममा विभिन्न नदी, खोलाहरुमा मोटरेबल पुल बनाई सडक जोड्नुपर्ने हुँदा पुलका लागि बजेटको व्यस्था गर्नुपर्ने माग गरिएको छ ।
विद्युत सम्बन्धमा आगामी पाँच वर्षभित्र जिल्लाका सबै स्थानीय तह र वडासम्म केन्द्रीय प्रसारण लाइन जडान गर्नुपर्ने, तमोर, काबेली, मैवा, मेवा, इन्द्रावती, तावा, फावाखोला आदिबाट विद्युत उत्पादन गर्नका लागि उपयुक्त वातावरण र लगानीकर्ताको खोजी गर्नुपर्ने माग छ । यसैगरी जडिबुटी प्रशोधनका लागि उद्योग स्थापना गरेर जिल्लामा पाइने जडिबुटीको सदुपयोग तथा प्रवद्र्धन गर्नुपर्ने, शैक्षिक योजनातर्फ पाथीभरा बहुमुखी क्याम्पसमा स्नातकोत्तरसम्म तह वृद्धि गर्नुपर्ने, सिनाम मावि र मैवाखोला तेम्बे माविलाई स्तरवृद्धि गरी स्नातक तहसम्म पढाइ सञ्चालन गर्नुपर्ने साथै राष्ट्रिय मावि पेदाङ, भानुजन मावि फुङ्लिङ, त्रिभुवन मावि थुकिमा, सरस्वती मावि हाङ्पाङलाई नयाँ नमूना माविका रुपमा सुधार गर्न पहल गर्नुपर्ने पनि माग गरिएको छ ।

स्वास्थ्यसम्बन्धी हाल कायम रहेको १५ शैयाको जिल्ला अस्पताललाई ५० शैयामा वृद्धि गर्नुपर्ने, प्रत्येक गाउँपालिकामा स्तरीय अस्पताल स्थापनासँगै सोहीअनुसार सेवा सुविधा उपलब्ध हुनुपर्ने, असुरक्षित बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी केन्द्रीकृत तथा सुरक्षित बस्तीको प्रवन्ध मिलाउने योजनाको माग माओवादीले गरेको छ । यसैगरी जिल्लामा शुद्ध खानेपानी व्यवस्थापन योजना, बेरोजगार युवाहरुलाई भरपर्दो र व्यवस्थित रोजगारीको व्यवस्था गराउन, सबै जाति, समुदाय, वर्ग, धर्म, संस्कारको समुचित विकाससँगै समाज रुपान्तरणको योजना बनाउनुपर्ने र पाँच वर्षभित्र ताप्लेजुङलाई भ्रष्टाचारमुक्त जिल्ला बनाउन दृढतापूर्वक पहल थाल्नुपर्ने लगायत मागहरु माओवादी केन्द्रले अघि सारेको छ ।

उक्त माग तथा जिल्लाका लागि विकास योजनाका प्रस्तावहरु यस जिल्लाबाट प्रतिनिधित्व गर्ने सङ्घ तथा प्रदेश सांसदका सबै जनप्रनिधिमार्फत प्रदेश साथै सङ्घीय सरकारसमक्ष पेश गरिएको माओवादी केन्द्रका जिल्ला संयोजक विजय किराँतीले जानकारी दिनुभयो । जिल्लाले अघि सारेको माग तथा प्रस्तावका बारेमा प्रदेश र सङ्घीय सरकारलाई घचघच्याई रहने पनि संयोजक किराँतीले बताउनुभयो ।

-प्रयास लिम्बू


प्रतिक्रिया दिनुहोस्