पत्रकार पालुङ्वा पुरस्कृत

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ / ताप्लेजुङस्थित टीकाराम गौतम स्मृति प्रतिष्ठानले स्थानीय एकजना पत्रकारसहित एकजना समाजसेवी र एक रेडक्रस संस्थालाई पुरस्कृत गरेको छ । प्रतिष्ठानद्वारा आइतबार आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रमबीच टीकाराम गौतम स्मृति पत्रकारिता पुरस्कारबाट स्थानीय पत्रकार माला पालुङ्वा पुरस्कृत हुनुभएको हो । पालुङ्वा पत्रकार महासङ्घ ताप्लेजुङ शाखाकी पूर्व उपाध्यक्ष हुनुहुन्छ ।

  फुङ्लिङ नपाका उप-प्रमुख बमबहादुर भट्टराई पत्रकार माला पालुङ्वालाई प्रमाणपत्र वितरण गर्नुहुँदै । तस्विर: प्रयास लिम्वू

यस्तै प्रतिष्ठानले समाजसेवीतर्फ आठराई त्रिबेणी गाउँपालिका चाँगे निवासी डम्बरप्रसाद चुडाललाई पुरस्कृत गरेको छ भने रेडक्रस संस्थातर्फ फक्ताङ्लुङ गाउँपालिकाको लिङ्खिम सिँवा उपशाखालाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा पत्रकार पालुङ्वा र समाजसेवी चुडालले जनही पाँच हजार १०५ रुपियाँ नगद पुरस्कार तथा सम्मानपत्र प्राप्त गर्नुभएको छ भने संस्थातर्फ रेडक्रस उपशाखा सिँवाले १० हजार रुपियाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेको छ ।

कार्यक्रममा फुङ्लिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेल र उप-प्रमुख बमबहादुर भट्टराई (तारा) ले सम्मानित तथा पुरस्कृत हुनेहरुलाई नगद पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभएको थियो । ताप्लेजुङ रेडक्रसका तत्कालिन सभापति स्वर्गीय टीकाराम गौतमको स्मृतिमा उहाँका आफन्तजनले स्थापना गरेको यस प्रतिष्ठानले हरेक वर्ष एकजना पत्रकार, एकजना समाजसेवी र जिल्लामा रहेका रेडक्रसका उपशाखामध्ये उत्कृष्ट छनोट गरी पुरस्कृत तथा सम्मान गर्दै आएको छ । विगत छ वर्षअघि प्रतिष्ठानको स्थापना गरी स्वर्गीय गौतमको जन्मभएको बैशाख ९ गतेका दिन पुरस्कारहरु वितरण गर्दै आएको प्रतिष्ठानका अध्यक्ष तोयानाथ गौतमले जानकारी दिनुभयो ।

 


प्रतिक्रिया दिनुहोस्