डेढसय सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण

ताप्लेजुङ संवाददाता

ताप्लेजुङ / ताप्लेजुङका डेढ सय बढी सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । डिभिजन सहकारी कार्यालय इलामले जिल्लाका एक नगरपालिकासहित नौ वटा स्थानीय तहमा रहेका एक सय ५४ वटा सहकारी संस्थाको अभिलेख सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरेको हो ।
सदरमुकाम फुङ्लिङमा मङ्गलबार आयोजित स्थानीय तहका पदाधिकारी तथा अधिकृतहरुको अभिमुखिकरण साथै अभिलेख हस्तान्तरण कार्यक्रमकाबीच डिभिजन सहकारी कार्यालयले सहकारीको सबै अभिलेख स्थानीय तहका पदाधिकारीलाई हस्तान्तरण गरेको हो ।

सहकारी संस्थाको अभिलेख फाइल फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेललाई हस्तान्तरण गर्नुहुँदै जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन । तस्बिर: प्रयास ।

जिल्लामा रहेका कुल एक सय ७५ वटा सहकारी संस्थामध्ये स्थानीय तहलाई बmुझाइएका बाहेक बाँकी २१ वटा सहकारी भने प्रदेश कार्यालयमा हस्तान्तरण गरिने डिभिजन सहकारी कार्यालय इलामका सहकारी अधिकृत लालबहादुर श्रेष्ठले बताउनुभयो । सहकारी अधिकृत श्रेष्ठका अनुसार स्थानीय तहलाई हस्तान्तरण गरेसँगै अब सहकारी ऐनले व्यवस्था गरेबमोजिम सहकारीको नियमन, नियन्त्रण, प्रवद्र्धन र दर्ता सहितका कार्य गर्ने जिम्मेवारी स्थानीय तहलाई हुने छ । जिल्लाभरको संस्थागत तथ्याङ्क, सम्बन्धित तहका सहकारी संस्थाहरूको विवरण, संस्था दर्ता सम्बन्धित आवश्यक कागजातको नमुना, लेखापरीक्षण तथा साधरणसभासम्बन्धी फाइल, सहकारी ऐन तथा सहकारी सेवा दिग्दर्शन र ताप्लेजुङ जिल्लामा दर्ता भएका सहकारी संस्थाहरूको विवरण पुस्तिका स्थानीय तहलाई बुझाइएको छ ।

डिभिजन सहकारी कार्यालय इलामअन्तर्गत ताप्लेजुङबाट पहिलो पटक सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गर्ने प्रक्रिया सुरुवात गरेको सहकारी अधिकृत श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार गएको असार मसान्त सम्ममा दर्ता भई सञ्चालित सहकारी संस्था फुङ्लिङ नगरपालिकालाई ४२ वटा, आठराई त्रिवेणी गाउँपालिकालाई ११ वटा र सिदिङ्बा गाउँपालिकालाई १६ वटा हस्तान्तरण गरिएको छ । यस्तै सिरिजङ्घा गाउँपालिकालाई २८ वटा, पाथीभरा याङ्वरक गाउँपालिकालाई २२, मेरिङ्देन गाउँपालिकालाई १७, मिक्वाखोला गाउँपालिकालाई १३, फक्ताङ्लुङ गाउँपालिकालाई १२ र मैवाखोला गाउँपालिकालाई नौ वटा सहकारी संस्था हस्तान्तरण गरिएका छन् ।

यता सहकारीहरुको अभिलेख बुझ्दै स्थानीय तहका पदाधिकारीहरुले स्थानीय तहमा आएको जिम्मेवारीलाई ऐन तथा कानुनमा व्यवस्था भएबमोजिम सक्रियतापूर्वक बहन गर्ने बताएका छन् । फुङ्लिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराई (तारा) ले जनताको त्याग र बलिदान पछि मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संरचनामा अघि बढिरहेका बेला विभिन्न विषयगत जिम्मेवारीहरु स्थानीय तहमा आउँदा अब मात्र गणतन्त्रको अनुभूत हुन थालेको बताउनुभयो । स्थानीय तहलाई प्राप्त हुन थालेको जिम्मेवारीलाई जनताको हितमा कार्यान्वयन गर्न स्थानीय सरकार लागिपर्ने भट्टराईले बताउनुभयो ।
यस्तै फुङ्लिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलले सम्पूर्ण प्रक्रियाका साथ स्थानीय सरकारलाई आएको जिम्मेवारीलाई मात्र कार्यान्वयन गर्न सकिने बताउनुभयो । नगरप्रमुख प्याकुरेलले जिम्मेवारी हस्तान्तरण औपचारिकताका लागि मात्र हुन नहुने बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेनले स्थानीय सरकारलाई महत्वपूर्ण जिम्मेवारीहरु आएको र यसलाई प्रभावकारी रुपमा जनतालाई प्रत्यक्ष लाभ पुग्नेगरी काम गर्न र सेवा प्रवाह गर्न आग्रह गर्नुभयो । मादेनले प्रदेश तथा सङ्घीय सरकारसँग निरन्तर समन्वय गरेर सरकारको निर्देशन र योनजा अनुरुप जिल्ला समन्वय समिति पनि सक्रिय रहने बताउनुभयो ।

यसैबीच सहकारी संस्थासम्बन्धी मङ्गलबार र बुधबार दुई दिन सञ्चालन हुने अभिमुखीकरण कार्यक्रममा सबै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, अधिकृत लगायतका कर्मचारी तथा सहकारी सङ्घका पदाधिकारीहरु सहभागी रहेका छन् । अभिमुखीकरणमा इलामका सहकारी अधिकृत श्रेष्ठसहित डिभिजन सहकारी कार्यालय सिराहाका प्रमुख रामप्रसाद सुवेदी लगायतले सहजीकरण गर्दै आउनुभएको बताइएको छ । ताप्लेजुङमा कृषि, वचत तथा ऋण, बहुउद्देश्यीय, विद्युत, चिया, दुग्ध, अलैँची र पर्यटनसम्बन्धी सहकारी संस्थाहरु रहेका छन् ।

-प्रयास लिम्बू

 


प्रतिक्रिया दिनुहोस्