नेपालको राष्ट्रिय भलिबल टोलीले तीन दशक पछि एसियाली खेलकुद (एसियाड) मा भाग लिने पक्का

काठमाडौं  / नेपालको राष्ट्रिय भलिबल टोलीले तीन दशक भन्दा लामो समयपछि एसियाली खेलकुद (एसियाड) मा भाग लिने पक्का भएको छ । नेपालको भलिबल टोलीले पछिल्लो पटक सन् १९८४ सिओल एसियाडमा भाग लिएको थियो ।

फाइल तस्बिर

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) को पत्र मंगलबार प्राप्त भएसँगै इन्डोनेसियाको जाकार्तामा भदौमा हुने १८ औं एसियाडमा नेपाली भलिबल टोलीको सहभागिता निश्चित भएको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले हाम्रो खेलकुदलाई जानकारी दिए ।

३२ वर्षपछि हामीले एसियाडको लागि मौका पाएका छौं । यसका लागि राखेप, एनओसी र खेल छनोट समितिलाई लाई धन्यवाद दिन चाहन्छौं , उनले भने, राष्ट्रिय खेल भएकोले यो सहभागिता निश्चित हुँदा सरकार भलिबलको विकास र विस्तार गर्नुपर्छ भन्ने सोचमा रहेको बुझ्न सकिन्छ ।

अब एसियाडको तयारीमा जुट्नु पर्ने उल्लेख गर्दै महासचिव चन्दले भने, ‘सहभागिताका लागि मात्र नभइ स्तर उन्नतीलाई ध्यानमा राखेर प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् । महिला टोलीको पनि सहभागिता गराउन सकिन्छ भने झनै राम्रो हुने थियो । त्यसका लागि हामी राखेप र एनओसीलाई आग्रह गर्नेछौं ।

राखेपले खेल संख्याको टुंगो लगाइसके पनि अहिले सम्म औपचारिक जानकारी भने गराएको छैन । पछिल्लो केहि वर्षयता निकै सक्रिय रहेको भलिबलको पुरुष टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय पदक प्राप्त गरेको थियो । एभिसी सेन्ट्रल जोन च्याम्पियनसिपमा नेपाल कास्य पदक जितेर फर्केको थियो ।

यसपटक पनि टोलीले बंगलादेशमा जारी सोही प्रतियोगितामा भाग लिइरहेको छ । आज तुर्केमिनिस्तानसँग हुने सेमिफाइनल जितेमा नेपालले कम्तीमा रजत पदक प्राप्त गर्नेछ । नेपाल सरकारले गत वर्ष नै भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्