पिपुल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक : किरण चेम्जोङ, सन्दीप सहित पाँच खेलाडीबीच प्रतिस्पर्धा

काठमाडौं /   फुटबलका किरण चेम्जोङ, क्रिकेटका सन्दीप लामिछाने,सहित पाँच अलग अलग खेलका खेलाडी पल्सर स्पोर्टस अवार्ड २०७४ को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन् ।

किरण चेम्जोङ

अर्को महिना हुने अवार्डका लागि नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार पत्रकार सम्मेलनमार्फत पिपुल्स च्वाइस अवार्ड मनोनयन सार्वजनिक गरेको हो । सन्दीप, किरणसँगै मनोनयमा पर्नेमा भलिबलका मानबहादुर श्रेष्ठ, गल्फकी प्रतिमा शेर्पा र टेबल टेनिसका स्यान्टु श्रेष्ठ छन् ।

सन्दीप लामिछाने

२०७४ सालभरि गरिएको प्रदर्शन र पाएको चर्चाको आधारमा पिपुल्स च्वाइस विधाको लागि खेलाडी छनोट गरिएको मञ्चले जानकारी दिएको छ । मनोनयमा पर्ने सबै खेलाडी आ आफ्नो खेलका कारण वर्षभर चर्चामा रहन सफल भएका थिए । मिनेरवा पञ्जाब एफसीलाई भारतको आइ लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका किरणले त्यसअघि माल्दिभ्सको धिवेही प्रिमियर लिग पनि खेलेका थिए ।

मानबहादुर श्रेष्ठ

भलिबल टोलीका नियमिति सदस्य मानबहादुरले घरेलु प्रतियोगितामा उच्च प्रदर्शन गरेका थिए । प्रतिभा नेपाली महिला गल्फरमा नम्बर एक खेलाडी हुन् । व्यावसायिक गल्फ ‘सूर्य नेपाल गल्फ टुर’को छनोट खेल्ने उनी पहिलो महिला नेपाली खेलाडी हुन् । उनी फाल्डो सिरिज नेपालकी विजेता हुन् । सन्दीप वर्ष भर युवा र राष्ट्रिय टोलीमा गरेको प्रदर्शनका कारण चर्चामा रहे । इन्डियन प्रिमियर लिग (आईपीएल) टोली दिल्ली डेयरडेभिल्समा आबद्ध उनी र क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा पनि खेल्ने तयारीमा छन् । उनले २०७४ सालमा कुल ८६ विकेट लिएका थिए ।

प्रतिमा शेर्पा

स्यान्टु ३९ औं राष्ट्रिय टेबलटेनिसमा पुरुष सिंगल्स, डबल्स र टिम स्पर्धामा स्वर्ण पदक जितेका थिए । उनी टेबल टेनिसमा आशा गरिएका खेलाडी हुन् । मञ्चले यसमा विजेता छनोट गर्ने विधिलाई विगतमा भन्दा केहि परिवर्तन गरिएको बताइएको छ । यसअघि एसएमएस र फेसबुक लाइक्सको आधारमा विजेता छनोट हुँदै आएको थियो ।

यसपटक एसएमएस, फेसबुक लाइक्स, विभिन्न खेलका प्रशिक्षक र मञ्चका सदस्य सदस्यको मतका आधारमा विजेता छनोट गरिनेछ । एसएमएस र लाइक्सको मतभार ५० प्रतिशत बनाइएको मञ्चले जनाएको छ । चार फेसबुक लाइक्सको मतभार १ एसएमएस बराबर हुनेछ । त्यस्तै सातौं राष्ट्रिय खेलकुदमा समावेश खेलका प्रशिक्षकहरू र मञ्चका सबै सदस्य पनि पिपुल्स च्वाइसमा निर्णायक बन्न पाउने व्यवस्था गरिएको छ । प्रशिक्षक र मञ्चका सदस्यको मतभार २५–२५ प्रतिशत रहने बताइएको छ ।

टस्यान्टु श्रेष्ठ

पिपुल्स च्वाइस अवार्डको लागि मतदान प्रक्रिया आजै सुरु भएको छ र २०७५ साल जेठ २ गते मध्यरातसम्म एसएमएस गर्न पाउने व्यवस्था रहेको मञ्चले जनाएको छ । एसएमएसका लागि मञ्चले सोही पत्रकार सम्मेलनमा टिएचटी लाइभ ३७७२२ सँग सम्झौता गरेको छ ।

मञ्चका सचिव राजु घिसिङ संयोजक तथा निरञ्जन राजवंशी, हिमेशरत्न बज्राचार्य, प्रजित शाक्य, सरिता श्रेष्ठ, आदर्श ढकाल र प्रज्वल ओली सदस्य रहेको खेलाडी छनोट समितिले केही दिनमा अन्य चार विधामा मनोनयनमा पर्न सफल खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गर्ने बताइएइको छ ।

हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको मुख्य प्रायोजनमा हुने अवार्डमा बर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी ८ विधामा अवार्ड प्रदान गरिनेछ । पारा, स्पेसल र लाइटाइभ एचिभमेन्टको विजेताको घोषणा भने जेठ ३ को अवार्डमै गरिने बताइएको छ ।

यसअघि जेठ ४ गते भने पनि अवार्ड प्राविधिक कारणवश एक दिन अघि सारिएको मञ्चका अध्यक्ष महेश आचार्यले जानकारी दिए । विगतमा वर्षका उत्कृष्ट पुरुष र महिला खेलाडी, पिपल्स च्वाइस अवार्ड तथा बर्षका उत्कृष्ट प्रशिक्षकलाई पल्सर मोटरसाइकल तथा अन्य विधाका विजेतालाई ५० हजार रुपैयाासहित गिफ्ट ह्याम्परहरूलाई प्राप्त गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्