महानगर प्रमुख समृद्धिका लागि नागरिक सँगै रहेर सकार्य गर्ने

काठमाडौँ / काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कामपाको समृद्धिका लागि नागरिकसँगै रहेर सहकार्य गर्ने बताउनुभएको छ । आज यहाँ कामपाको वडा नं १४ ले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा कामपाका प्रमुख शाक्यले समृद्धिका लागि नागरिकको सक्रियता आवश्यक हुने बताउनुभएको हो ।


शाक्यले भन्नुभयो, “नगरको विकास नागरिकका लागि हो त्यसैले कामपाको सबै विकासमा नागरिक सहभागी हुन आवश्यक छ ।” कामपाका उप-प्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले नगरवासीको अपेक्षा एकीकृत विकास रहेकाले सोहीअनुरुप विकासको काम गरिने बताउनुभयो ।

वडा नं १४ का वडाध्यक्ष शोभा सापकोटाले वडामा भएका २२ वटाभन्दा बढी टोल विकास समूहसँगको सहकार्यमा बाटोमा ब्लक छाप्ने, ढुङ्गा बिछ्याउने, मंगल निर्माण गर्ने, इनार सफा गर्ने, आरसिसी ढलान गर्ने, सडक पिच गर्ने काम सम्पन्न गरिएको जानकारी दिनुभयो ।

कलंकी चोकको व्यवस्थापन, बजार र उद्योगधन्धाको तथ्याङ्क संकलन, पार्किङस्थलको पहिचान र व्यवस्थापन, बल्खु खोला करिडोर निर्माण, सार्वजनिक शौचालय निर्माणजस्ता काम तत्कालको योजनामा रहेको सापकोटाले बताउनुभयो ।

कार्यक्रममा सहभागीले भूकम्पीय क्षति न्यूनीकरणका लागि सचेतना अभियान, दुव्र्यसन न्यूनीकरण तथा सुधार केन्द्रको स्थापना, खाद्य वस्तुको गुणस्तर मापन, पाटीपौवाको संरक्षणजस्ता काम पनि वडाले गर्नुपर्ने माग गरेका थिए । रासस


प्रतिक्रिया दिनुहोस्