सुरक्षा परिषद्को टोलीद्वारा सूकीसँग भेट

म्यानमार / म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सूकीसँग संयुक्त राष्ट्रसंघ अन्तर्गतको सुरक्षा परिषद्को उच्चस्तरीय टोलीले सोमबार भेटवार्ता गरेको छ ।

म्यानमारको राखिनेमा हिंसा सुरु भएपछि उहाँलाई भेट्ने कुटनीतिज्ञहरूमध्ये यो सवै भन्दा उच्चतहको भेटवार्ता हो । म्यानमारको राखिनेमा मुस्लीम धर्म मान्ने रोहिङ्ज्या समुदाय र बहुसङ्ख्यक वुद्धमार्गी समुदायबीच भएका विवादमा सरकारी सेनाले गरेको कारबाहीका क्रममा दर्दनाक हिंसाका घटना भएका छन् ।

सोमबार दिउसो सूकीको अध्यक्षतामा बसेको बैठकमा १५ जना राष्ट्रसंघीय प्रतिनिधिहरू सहभागी भएका थिए । उनीहरूले म्यानमारबाट विस्थापित भएर शरणार्थी जीवन विताइरहेकाहरूलाई सुरक्षित तरिकाले स्वदेश फकर्ने व्यवस्था गर्न सूकीलाई दवाव दिएका थिए । उनीहरूको टोलीले हेलिकोप्टर मार्फत् मंगलबार हिंसा प्रभावित उत्तरी राखिने राज्यको अवलोकन पनि गरेका छन् ।

पछिल्लो एक तथ्यांक अनुसार झण्डै सात लाख रोहिङ्ज्या समुदायका व्यक्तिहरु विस्थापित भएर छिमेकी मुलुक बङ्लादेशमा शरणार्थी भएका छन् ।
राष्ट्रसंघीय अधिकारीहरूले बंगलादेशमा रहेका ठूलो संख्याका म्यान्माली रोहिङज्या शरणार्थीहरूका लागि कम्तिमा पनि २५ करोड डलर सहायता चाहिएको बताए ।

उनीहरूले बंगलादेशमा रहेका रोहिङज्याहरूको खानपिन तथा अन्य आधारभूत आवश्यकताकै लागि सो रकम चाहिएको बताएका हुन् ।
रोहिङज्या मुसलमान समुदायका नागरिकलाई स्वदेश फर्काउने प्रयोजनका लागि के गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको एक प्रतिनिधिमण्डलले शनिबारदेखि म्यानमार र बङ्गलादेशको भ्रमण सुरु गरेको हो । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस्