प्याव्सन कार्यालयमा विद्यार्थीको तालाबन्दी

-प्रयास लिम्बू

ताप्लेजुङ / ताप्लेजुङमा विभिन्न विद्यार्थी सङ्गठनहरुले चर्को शुल्क वृद्धि गरेको विरोधमा निजी विद्यालय अर्गनाइजेशन (प्याव्सन) को कार्यालयमा बुधबार तालाबन्दी गरेका छन् । निजी तथा संस्थागत विद्यालयका लागि सरकारले निर्धारण गरेको शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ विपरित शुल्क वृद्धि गरेको भन्दै विद्यार्थी सङ्गठनले प्याव्सन कार्यालयमा तालाबन्दी गरेका हुन् ।

एमाले निकट अनेरास्ववियु, काँग्रेस निकट नेविसङ्घ र माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले कार्यालयमा तालाबन्दी गर्दै प्याव्सनका जिल्ला अध्यक्ष इन्द्रकुमार गुरुङलाई संयुक्त ध्यानाकर्षण पत्र समेत बुझाएका छन् । जिल्लास्थित नेविसङ्घका कार्यबाहक अध्यक्ष पारस चोङ्बाङ, अनेरास्ववियुका उपाध्यक्ष राजु नेपाली र अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष किरण लिङ्देनले हस्ताक्षर गर्नुभएको ध्यानाकर्षणपत्र प्याव्सन अध्यक्ष गुरुङलाई बुझाइएको हो ।
गणतान्त्रिक नेपालको संविधान जारी भएको तीन वर्ष बित्न लाग्दासमेत सरकारले शिक्षालाई सबैको पहुँचमा पु¥याउने र निःशुल्क व्यवस्था गर्नुपर्नेतर्फ ठोस पहलकदमी नदिएको, स्थानीय तहलाई माध्यमिक तहसम्म व्यवस्थापन, अनुगमन र स्थानीय पाठ्यक्रम बनाएर लागू गर्नेतर्फ सन्तोषजनक कार्य नभएको ध्यानाकर्षपत्रमा उल्लेख गरिएको छ ।

सरकारले निर्माण गरेको नीति तथा योजनाको कार्यान्वयन गर्न, निजी विद्यालयले वृद्धि गरेको शुल्क फिर्ता गर्न, सार्वजनिक विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गर्न, सार्वजनिक शिक्षाप्रति विश्वास बढाउन प्रभावकारी अनुगमन, निर्देशन र आवश्यक कार्यहरु तत्काल अगाडि बढाउनुपर्ने जस्ता मागहरु विद्यार्थी सङ्गठनले अघि सारेका छन् ।

 


प्रतिक्रिया दिनुहोस्