बरामद गरिएका पच्चीस हजार लिटर घरेलु मदिरा नष्ट

काठमाडौँ, /  महानगरीय प्रहरी परिसर काठमाडौँले विभिन्न स्थानबाट बरामद गरिएका २५ हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ । परिसरले महानगरीय प्रहरीवृत्त बौद्ध, कपन, बसपार्क, कालिमाटी, स्वयम्भू, कोटेश्वरलगायत स्थानबाट बरामद गरेको ती परिमाणका मदिरा नष्ट गरेको हो ।

फाइल तस्विर

परिसरले आज पत्रकार सम्मेलन गरी घरेलु मदिरा नियन्त्रण गर्न लागू गरिएको विशेष अभियानअन्तर्गत रु ३० लाख मूल्य बराबरको घरेलु मदिरा नष्ट गरिएको जानकारी दिएको हो । परिसर प्रमुख विश्वराज पोखरेलले वैशाख १ गतेदेखि आजसम्म २५ हजार लिटर मदिरा, चार हजार किलोग्राम कच्चा पदार्थ बरामद गरेको जानकारी दिनुभयो । “घरेलु मदिरा सेवनबाट हुनसक्ने अपराधलाई नियन्त्रण गर्नका लागि मदिरा बरामद गरिएको हो,”– उहाँले भन्नुभयो ।

घरेलु मदिराबाट कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, बलात्कार, यौन हिंसा, कुटपिट, गुण्डागर्दी हुने गरेको परिसरले जनाएको छ । परिसरमा घरेलु मदिरा सेवनबाट तीन महिनामा कर्तव्य ज्यान १६, जवरजस्ति करणी ५३, ज्यान मार्ने उद्योग, केहि सार्वजनिक अपराध एक हजार सात र घरेलु हिंसा ४८९ मुद्दा दर्ता भएका छन् ।रासस


प्रतिक्रिया दिनुहोस्