श्रीराम र आइरा जोडी बने खुला टेनिस प्रतियोगिताको च्याम्पियन

काठमाडौँ, / गुरु श्रीराम मगर र चेली आइरा रावतको जोडी छैटौँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा आज च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा भएको अन्तिम खेलमा श्रीराम र आइराको जोडीले प्रणव खनाल र माहिका राणाको जोडीलाई ७–५, ३–६ र ११–९ को सेटमा पराजित गर्दै च्यम्पियन बनेको हो ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमल भण्डारी पहिलो भए । उनले फाइनलमा महेश श्रेष्ठलाई ६–४ र ६–१ को सेटमा हराए । ६५ वर्षमाथि पुरुष सिंगल्सको उपाधि ज्ञानेन्द्र ताम्राकारले जिते । उनले उपाधि भिडन्तमा दीपक श्रेष्ठको चुनौती ४–० र ५–३ ले समाप्त पारे । भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा कृष्णराज घले र विनोद गुरुङ फाइनलमा भिड्ने छन् । सेमिफाइनलमा कृष्णले विमल गुरुङलाई ७–५ र ६–१ तथा विनोदले विकास गुरुङलाई ६–४ र ६–२ को सेटमा पाखा लगाए ।

सोही उमेर समूहको डबल्समा कृष्णराज घले र सुवर्ण धाक्वाको जोडीले प्रताप मोक्तान र थोङबम तुलेश्वर सिंहको जोडीलाई ६–१ र ६–३ तथा राजु क्षेत्री र सुदर्शन विष्टको जोडीले डेगेन्द्र श्रेष्ठ र संजिव श्रेष्ठको जोडीलाई ७–५ र ६–२ ले पन्छ्याउँदै फाइनलमा स्थान सुरक्षित गरे । भेट्रान ५५ वर्षमाथि पुरुष डबल्समा मनोज राणा र छ्याम्बा डुन्डुपको जोडीले ज्ञानेन्द्र ताम्राकार र ध्रुव गुरुङको जोडीलाई ६–२ र ७–५ तथा राजनसिंह भण्डारी र करिम मुल्लाहको जोडीले दीपक श्रेष्ठ र अमृत कंशाकारको जोडीलाई १–६, ६–३ र १२–१० को सेटमा पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरे ।

प्रतियोगिताअन्तर्गत शुक्रबार पुरुष डबल्स, पुरुष ३५ वर्षमाथि, ४५ वर्षमाथि र ५५ वर्षमाथि डबल्स तथा पुरुष ४५ वर्षमाथि र ५५ वर्षमाथि सिंगल्सको फाइनल हुनेछ ।

तेक्वान्दो टोली कोरियातर्फ

यसैगरी वैदेशिक प्रशिक्षणका लागि तेक्वान्दो खेलाडी आज दक्षिण कोरियाको सिओल प्रस्थान गरेका छन् । समान ५–५ पुरुष÷महिला खेलाडीसहित ११ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले आज यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।

पुरुष खेलाडीमा सागर गुभाजु, वीरबहादुर महरा, ज्ञानेन्द्र हमाल, भूपेन श्रेष्ठ र अनोज पुजारी रहेका छन् । त्यस्तै महिलामा अस्मिता खड्का, निमा गुरुङ, ज्ञानी पुजारा, संगीता बस्याल र निशा रावल छन् । प्रशिक्षकमा संगीना वैद्य छिन् । भूपेन, संगीता र निशा भने अर्को सातामा सिओल जाने नेपाल तेक्वान्दो संघले जनाएको छ । उनीहरुले छुङ वो मार्सल आर्ट्स इन्स्टिच्यूटमा करीब तीन महिना प्रशिक्षण लिइने कार्यक्रम छ । रासस


प्रतिक्रिया दिनुहोस्