प्रदेश नं ७ : सचिवालय सञ्चालनका लागि भौतिक संरचना अभाव

धनगढी / प्रदेश नं ७ को संसद् सचिवालय सञ्चालनका लागि भौतिक संरचना अभाव भएको छ ।

भौतिक संरचना नहुँदा कार्यालय व्यवस्थापनमा समस्या भएको सचिवालयका उपसचिव छविलाल पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुुसार भौतिक संरचना नहुँदा संसदीय दलको कार्यालय, समतिको कार्यकक्ष र दलका प्रमुख सचेतकको कार्यकक्ष अझै स्थापना गर्न सकिएको छैन ।

संसद् सञ्चालनका लागि ५२ कोठा आवश्यक भए पनि अहिले नौ कोठामा सचिवालयको काम हुँदै आएको छ । उहाँले कोठा उपलब्ध गराउनेबारे पटक पटक मुख्यमन्त्रीसहित मन्त्रीसँग माग गरिए पनि अझै उपलब्ध नगराइएको बताउनुभयो । कोठा अभावले अहिले दुई उपसचिव एउटै कोठामा बसेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी केन्द्रबाट पठाइएका २८ कर्मचारीमध्ये एक कानून उपसचिव र दुई शाखा अधिकृतसहित छ कर्मचारी अझै आइपुगेका छैनन् । सचिवालयलाई नयाँ आर्थिक वर्षका लागि १३२ कर्मचारी आवश्यक रहेको सचिवालयका उपसचिव पाण्डेले बताउनुभयो ।

यसैगरी सचिवालयका लागि नौ गाडी अपुग भएका छन् । समितिका सभापति र प्रमुख सचेतकलाई आवश्यक गाडी उपलब्ध हुन नसकेको उहाँले बताउनुभयो । अहिले सभामुख, उपसभामुख र सचिवालयका सचिवले मात्र गाडी चढ्ने गरेका छन् । रासस


प्रतिक्रिया दिनुहोस्