सिरियामा छ जना टर्किस् सैनिक मारिए

 

अङ्कारा / सिरियाको आफ्रिन प्रान्तमा छ जना टर्किस् सैनिक मारिएका छन् । उक्त शहर सिरियाको उत्तरपश्चिमी भू–भागमा पर्दछ ।
उक्त क्षेत्रमा मंगलबार बिहान भएको एक झडपमा परी छ जना टर्किस् सैनिक मारिएका बताइएको छ । टर्कीको सैनिक स्रोतले सो जानकारी दिएको समाचारमा उल्लेख छ ।

सो क्षेत्रमा त्यहाँका स्थानीय विद्रोही र टर्किस् सैनिकबीच भिडन्त भएको थियो । यस झडपको विस्तृत समाचार प्राप्त भएको छैन ।
टर्कीको सेनाले प्रकाशन गरेको विज्ञप्तिअनुसार टर्किस् सेनाको ‘ओपसन ओलिभ ब्रान्च’ले सिरियाको आफ्रिनमा शुरु गरेको कारवाहीका क्रममा ज्यान गुमाउने सैनिकको संख्या ५० पुगेको बताइएको छ ।

सो क्षेत्रमा केही दिनयतादेखि टर्कीको सेनाले हवाई कारवाही पनि गर्ने गरेको समाचारमा जनाइएको छ । सिरियामा केही दिनअघि मात्र अमेरिकी नेतृत्वमा फ्रान्स र बेलायती सेनाले पनि आक्रमण गरेको थियो । तर सो आक्रमण कतै लक्षित नभई सिरियाली सैनिकले भण्डारण गरेको भनिएको रासायनिक हतियारको भण्डारणस्थलमा केन्द्रित भएको अमेरिकी अधिकारीले जनाएका छन् । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस्