सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएका छौंः अध्यक्ष प्रचण्ड

काठमाडौं / पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आफूहरुले सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएको बताउनु भएको छ । चिनियाँ कम्युनिष्ट पार्टी बेइजिङका सेक्रेटरी लिजियाङको नेतृत्वमा आएको प्रतिनिधि मण्डलसँग बुधवार बिहान खुमलटारमा भेट गर्दै अध्यक्षले यस्तो बताउनु भएको हो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो,‘ हाम्रो मुख्य ध्येय पर्यटन क्षेत्रको विकास गर्ने भन्ने हो । त्यसका लागि ‘कनेक्टिभिटि’ नै मुख्य हो । सडकको ‘कनेक्टिभिटि’, रेलको ‘कनेक्टिभिटि’ र संचारको ‘कनेक्टिभिटि’ बाट मात्र पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ ।’

उहाँले पर्यटन क्षेत्रको विकासका लागि चीनियाँ जनता र सरकारको चासो बारे प्रधानमन्त्री र सम्बन्धित मन्त्रीसँग छलफल गर्ने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, ‘ हाम्रो आर्थिक विकासको अभियानमा तपाई चिनियाँ लागनीकर्ताहरुलाई हार्दिक स्वागत छ ।’

उहाँले प्रधानमन्त्रीका रुपमा पहिलोपटक चीन भ्रमण हुँदा तत्कालिन राष्ट्रपति हु जिन्ताओसँग यही कनेक्टिभिटिका बिषयमा छलफल भएको स्मरण गर्दै भन्नुभयो, ‘म दोस्रो पटक प्रधानमन्त्री बनेपछि पनि यही बिषयमा राष्ट्रपति सि जिङपिङसँग छलफल गरेको छु ।’

त्यसैगरी चिनियाँ प्रतिनिधि मण्डलले अध्यक्ष प्रचण्डलाई नेपालको व्यवहारिक नेतृत्व भन्दै उच्च प्रशंसा गरेको थियो । उनीहरुले चिनियाँ जनताहरुको आकर्षक गन्तव्य नेपाल भएकोले नेपालको पर्यटन प्रवद्र्धनमा चिनियाँ लगानीकर्ता लोभिएको बताएका थिए । दुई देशको आपसी सम्बन्धबाट नेपालको आर्थिक विकासमा सहयोग पुग्ने प्रतिनिधि मण्डलको नेतृत्व गरेर आएका सेक्रेटरी लिजियाङले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्